

बागलुङ । प्रतिष्ठित व्यावसायिक समूह आईएमई ग्रुपको लगानीमा बागलुङ बजारमा लक्जरी होटल ‘इला कम्फर्ट’ सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर तथा मध्यपहाडी लोकमार्ग हुँदै गण्डकी क्षेत्र र बागलुङका पर्यटकीय स्थलहरू भ्रमण गर्ने पर्यटकका लागि यो होटलले स्तरीय सेवा सुविधा उपलब्ध गराउने जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शनिबार आयोजित विशेष कार्यक्रममा होटलको औपचारिक उद्घाटन गरे । उनले आईएमई ग्रुपको पर्यटन पूर्वाधार क्षेत्रमा गरिएको लगानीले मुलुककै पर्यटन उद्योगमा सकारात्मक प्रभाव पार्ने बताए । मन्त्री पाण्डेले नेपालको आर्थिक समृद्धिको भविष्य पर्यटनमै रहेको उल्लेख गर्दै यसको प्रवर्द्धन गर्न सरकार दृढ रहेको स्पष्ट पारे ।
गण्डकी प्रदेश सरकारका मन्त्री कृष्ण पाठकले आईएमई ग्रुपको पर्यटन पूर्वाधार विकासमा योगदानको प्रशंसा गर्दै गण्डकी प्रदेशमा थप लगानी गर्न आग्रह गरे । उनले भने, ‘आईएमईका अध्यक्ष ढकालले सातै प्रदेशमा पर्यटन पूर्वाधार विकासमा लगानी गरिरहनुभएको छ । यदि कतै अवरोध छ भने, तपाईं हाम्रो गण्डकी प्रदेशमा आउनुस्, हामी स्वागत गर्छौं ।’
आईएमई ग्रुप तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले होटल ‘इला कम्फर्ट’ बागलुङको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले सातै प्रदेशमा होटल तथा केबुलकार सहित पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको उल्लेख गर्दै मुलुकभित्र रोजगारी सिर्जना गर्न आफू प्रतिबद्ध रहेको बताए ।
लगभग ३० करोड रुपैयाँको लागतमा निर्माण भएको होटल ‘इला कम्फर्ट’ करिब चार रोपनी क्षेत्रफलमा फैलिएको छ । होटलमा २७ अतिथि कक्ष, दुई सुइट तथा एक विशेष पेन्ट हाउस सहित ३० आकर्षक कोठा रहेका छन् । परम्परागत आतिथ्य सेवालाई नयाँ ढंगले प्रस्तुत गर्दै, पाहुनालाई असाधारण अनुभव प्रदान गर्ने लक्ष्य रहेको होटल व्यवस्थापनले जनाएको छ ।
होटलका प्रमुख सचिन ढकालका अनुसार ‘इला कम्फर्ट’ केवल लक्जरी होटल मात्र नभई बागलुङ बसाइलाई अविस्मरणीय अनुभवमा रूपान्तरण गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । उनले भने, ‘हामी यहाँ कोठामात्र बेच्दैनौं, हाम्रा पाहुनाहरूलाई स्मरणीय अनुभव प्रदान गर्छौं ।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल डेढ घण्टाको दुरीमा रहेको यो होटल नियमित सार्वजनिक यातायातको सुविधा सहित आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकका लागि सहज पहुँचमा रहेको छ ।
‘इला कम्फर्ट’ इला ब्रान्डको होटल विस्तार रणनीतिको पहिलो चरणको प्रतिनिधित्व गर्दै सञ्चालनमा आएको हो । कम्पनीले नवलपरासी गैंडाकोटमा अर्को होटल सुरु गर्ने तयारी गरिरहेको र सात प्रदेशमै सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ ।