निजगढ विमानस्थल निर्माणमा भारतको सहयोग आवश्यक: पूर्वप्रधानमन्त्री नेपाल

निजगढ विमानस्थल निर्माणमा भारतको सहयोग आवश्यक: पूर्वप्रधानमन्त्री नेपाल

-प्रेमचन्द्र झा-

रौतहट । नेकपा एसका केन्द्रीय अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कुनै अवरोध नखडा गर्न भारत सरकारलाई आग्रह गरेका छन्।

नेपाल र भारतका पत्रकारहरूको संस्था मिडिया फर बोडर हार्मोनी द्वारा रौतहट सदरमुकाम गौरमा आयोजित नेपाल-भारत मैत्री संवाद कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै उनले भारतले जनकपुर- अयोध्या र लुम्बिनी-बोधगया जोड्ने नयाँ हवाई रुट बनाउनुपर्ने बताए। साथै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले नेपाल-भारतबीचको हवाई यात्रा सहज बनाउने भएकाले एयर रुटका विषयमा अनावश्यक झमेला नबढाउन भारतलाई अनुरोध गरे।

उनले आफू प्रधानमन्त्री भएको बेला २००९ मा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको निर्णय गरेको उल्लेख गर्दै, २०१० मा आफू प्रधानमन्त्री रहँदा शिलान्यास गरिएको फास्ट ट्र्याक सडक परियोजना अझै नसकिएकोमा चिन्ता व्यक्त गरे। उनले तीव्र गतिमा निर्माण कार्य अघि बढाउन नेपाल सरकारलाई समेत ध्यानाकर्षण गराए।

नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक हवाई चाप रहेकाले वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको बताए। फास्ट ट्र्याकको कामलाई गति दिन आफूले पटक-पटक अनुगमन गरेको भए पनि अपेक्षित प्रगति नदेखिएको भन्दै, समन्वय र सहकार्यलाई निरन्तरता दिइरहेको उल्लेख गरे।

सीमावर्ती जनताले भोगिरहेका समस्या समाधान गर्न नेपाल र भारतका प्रशासनिक तथा जनप्रतिनिधि तहबाट पहल आवश्यक रहेको उनले बताए। कार्यक्रममा नेपाल-भारत सीमा क्षेत्रमा देखिने व्यावहारिक तथा सरकारी समस्या समाधानका लागि दुवै देशका सांसद, विधायक तथा प्रशासनिक अधिकारीहरूको समन्वयमा पहल गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा भारत बिहार विधानसभाका विधायक मोतीलाल प्रसाद, मधेस प्रदेशका पूर्वमन्त्री योगेन्द्र यादव, प्रदेश सभा सदस्य नागेन्द्र साह, बौधीमाई नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार यादव, भारत नागरिक समाजका प्रतिनिधि रामअशिष पटेललगायतले नेपाल-भारत सीमावर्ती जनताको समस्याबारे आफ्ना धारणा राखेका थिए।