मोन्टी देशाईको विदाई: ‘गुडबाई होइन, धन्यवाद’

मोन्टी देशाईको विदाई: ‘गुडबाई होइन, धन्यवाद’

काठमाडौं । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले आफ्नो कार्यकाल सकिएसँगै नेपाली क्रिकेट परिवारप्रति कृतज्ञता व्यक्त गर्दै विदाई सन्देश दिएका छन्। सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै उनले यो ‘गुडबाई नभएर धन्यवाद’ भएको बताएका छन्। नेपाली क्रिकेटसँग बिताएका दुई वर्षलाई उनले अविस्मरणीय यात्रा भनेका छन्, जसमा थुप्रै मनमोहक क्षणहरू र कोसेढुङ्गाहरू जोडिएका छन्।

देशाईको दुई वर्षे कार्यकाल र सम्झनाहरू

नेपाल क्रिकेट सङ्घ (क्यान) ले उनको सम्झौता नवीकरण नगर्ने निर्णय गरेसँगै उनको दुई वर्षे कार्यकाल समाप्त भएको हो। यस अवधिमा उनले नेपाली क्रिकेटमा महत्वपूर्ण प्रगति गराएको चर्चा भइरहेको छ।

देशाईले त्रिवि क्रिकेट मैदानमा एसीसी प्रिमियर कपको फाइनलमा दर्शकहरू छाता ओढेर खेल हेरेको क्षणदेखि मुलपानीमा टी-२० विश्वकप छनोटको निर्णायक खेलसम्मका विशेष क्षणहरू सम्झिएका छन्।

खेलाडी, व्यवस्थापन र समर्थकहरूप्रति कृतज्ञता

आफ्नो प्रशिक्षकीय यात्रामा विभिन्न उतारचढाव आए पनि नेपाली क्रिकेटको हिस्सा बन्न पाएकोमा उनले क्यान व्यवस्थापन, खेलाडी, समर्थक, ग्राउन्ड्सम्यान, कमेन्टेटर तथा कप्तान रोहित पौडेलप्रति आभार व्यक्त गरेका छन्।

खेलाडीहरूको मेहनतको प्रशंसा गर्दै उनले लाखौं नेपालीको सपना बोकेका खेलाडीहरूलाई ‘ह्याप्पी ड्रेसिङ रूम’ को महत्त्व सम्झाएका छन्, जहाँ सम्बन्ध, एकता, खुलापन र जवाफदेहिताले खेलाडीहरूलाई सशक्त बनाएको छ।

समर्थकहरूप्रति अपिल

नेपाल क्रिकेटलाई सधैं समर्थन गर्ने समर्थकहरूप्रति विशेष आभार प्रकट गर्दै देशाईले भविष्यमा पनि यो विश्वास कायम राख्न अनुरोध गरेका छन्। नेपाली क्रिकेटको लागि आफ्नो योगदान सधैं सम्झनायोग्य रहने उनले उल्लेख गरेका छन्।