काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका मन्त्रीहरू तथा जनप्रतिनिधिहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिएका छन्।
शनिबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै महामन्त्री थापाले सत्तामा बसेर ‘यो भएन, त्यो भएन’ भन्ने प्रवृत्ति उचित नभएको भन्दै जिम्मेवारी वहन गर्दै प्रभावकारी काम गर्नुपर्ने बताएका हुन्। ‘पद हामीले लिने, अनि बाहिरका मान्छेले मात्रै गाली गर्ने ? हामीले नै यो भएन, त्यो भएन भन्ने ? गर्ने चाहिँ को हो त ?’ उनले प्रश्न गरे।
उनले संघीय सरकारका मन्त्रीहरू तथा प्रदेशका मुख्यमन्त्रीहरूको नामै किटान गर्दै अहिले उपलब्ध अवसरको सदुपयोग गर्दै ठोस उपलब्धि हासिल गर्न निर्देशन दिए। ‘कांग्रेसले २०८४ मा मात्र गर्छु भन्ने होइन, अहिले अवसर आएको छ, अहिले नै गर्नुपर्छ,’ उनले भने, ‘२०८४ मा त रिपोर्ट कार्ड लिएर जानुपर्छ। यति गर्छौं भनेका थियौं, यति गर्यौं भन्ने हो। त्यसपछि मात्र जनतासँग विश्वसनीय हिसाबले प्रस्तुत हुन सकिन्छ।’
उनले अहिले कांग्रेस नेतृत्वको सरकार रिपोर्ट कार्डमा राम्रो अंक ल्याउने गरी काम गरिरहेको दाबी गर्दै आगामी निर्वाचनमा पार्टी बलियो बनाउन अहिले देखिने गरी काम गर्नुपर्ने उल्लेख गरे। ‘काम गरेर २०८४ को चुनावमा जाने तयारी कांग्रेसको छ,’ उनले भने।