

मुम्बई । प्रयागराजमा जारी महाकुम्भ २०२५ एक धार्मिक पर्व मात्र नभएर अनेकौं कथा जन्माउने स्थल बनेको छ। यस्तै एक कथा हो ‘ब्राउन आइड’ मोनालिसाको, जसको सुन्दर आँखाले उनलाई सामाजिक सञ्जालमा भाइरल मात्र बनाएन, बलिउडसम्मको बाटो खोलिदियो।
मध्य प्रदेशको महेश्वरकी मोनालिसा हालै महाकुम्भ मेलामा रुद्राक्ष माला बेच्दै गर्दा भाइरल भइन्। उनको जादुमयी आँखाले लाखौंको ध्यान तान्यो, जसका कारण उनी माला बेच्नै असहज महसुस गर्दै अन्ततः मेलाबाट फर्किन बाध्य भइन्। तर यही लोकप्रियताले उनलाई बलिउड फिल्ममा अभिनय गर्ने अवसर दिलाएको छ।
निर्देशक सनोज मिश्रले मोनालिसालाई आफ्नो नयाँ फिल्म ‘डायरी अफ मणिपुर’ मा मुख्य भूमिकाका लागि अनुबन्धित गरेका छन्। एनडीटीभीका अनुसार, मोनालिसाले यो फिल्मका लागि २१ लाख भारु पारिश्रमिक पाउनेछिन्, जसबाट १ लाख भारु हस्ताक्षर रकमका रूपमा दिइएको छ।
फिल्मको छायांकनअघि उनलाई मुम्बईमा विशेष अभिनय प्रशिक्षण दिइनेछ। निर्देशक मिश्र हाल फिल्मको तयारीमा व्यस्त छन्, जसमा मोनालिसा प्रमुख भूमिकामा देखिनेछिन्। महाकुम्भको हलचलबाट बलिउडको चमकसम्मको यो यात्रा मोनालिसाका लागि नयाँ अध्याय सावित हुन सक्छ।