भारतको वार्षिक बजेट आज सार्वजनिक हुँदै

भारतको वार्षिक बजेट आज सार्वजनिक हुँदै

नयाँदिल्ली । भारतले आर्थिक वर्ष २०२५/२६ का लागि वार्षिक बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री निर्मला सीतारमणले बिहान ११ बजे संसदमा बजेट प्रस्तुतीकरण गर्नेछिन्। यसअघि, मंगलबार उनले आर्थिक सर्वेक्षण सार्वजनिक गरेकी थिइन्, जसअनुसार आर्थिक वर्ष २०२५/२६ मा भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि दर ६.३५ देखि ६.८५ प्रतिशतबीच रहने अनुमान गरिएको छ। त्यस्तै, खुद्रा मुद्रास्फीति अप्रिल–डिसेम्बर २०२४ अवधिमा ४.९ प्रतिशत पुगेको देखाइएको छ।

बजेट घोषणापछि नेपालसहित छिमेकी राष्ट्रहरूका लागि भारतको सहयोग योजना पनि स्पष्ट हुनेछ। भारतले प्रत्येक वर्ष सार्क राष्ट्रका लागि बजेट छुट्याउँदै आएको छ, जसअन्तर्गत भुटानले सबैभन्दा बढी सहयोग प्राप्त गर्ने गरेको छ।

भारतको पहिलो आर्थिक सर्वेक्षण सन् १९५०/५१ मा केन्द्रीय बजेटको एक भागका रूपमा पेश गरिएको थियो। तर, १९६४ देखि सर्वेक्षणलाई बजेटबाट अलग गरिँदै आएको छ, जसअनुसार प्रत्येक वर्ष बजेट घोषणा हुनुअघि एक दिन अघि आर्थिक सर्वेक्षण सार्वजनिक गरिन्छ।