प्रधानमन्त्री ओलीको आर्थिक स्थितिको समीक्षा: देशको आर्थिक वृद्धिमा सुधारको दावी

प्रधानमन्त्री ओलीको आर्थिक स्थितिको समीक्षा: देशको आर्थिक वृद्धिमा सुधारको दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक गतिबिधि बढिरहेको दावी गरेका छन्। हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको उपलब्धी र आर्थिक स्थितिबारे तथ्यांक प्रस्तुत गरे।

संसदमा आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओलीले भनें, “देश विकास, सुशासन र नागरिकको जीवनस्तर उकास्नका लागि हामी एकजुट भएका छौं। हाम्रो बैंकमा पर्याप्त पैसा छ, तर केही व्यवासायीहरूले ऋण लिएर लगानी नगरेको देखिन्छ। विदेशबाट रेकर्ड तोडेर रकम आउनुका बाबजुद बजारमा मागमा कमी आएको छ। घरजग्गा व्यवसाय पनि सुस्ताएको छ,” उनले यस अवस्थाबारे सरकार सावधानीपूर्वक विचार गरिरहेको बताए।

उनले यस समस्यालाई समाधान गर्न सरकारले निजी क्षेत्रको मनोबल बढाउन, लगानीको वातावरण बनाउन र कानूनी सुधारको काम गरेको दावी गरे। “हामीले वर्षौंदेखि गर्न नसकेको कानूनी सुधारलाई यस पटक अध्यादेशमार्फत एकैपटक पूरा गरेका छौं। यो जनताको सरकारको काम हो,” ओलीले जोड दिए।

प्रधानमन्त्री ओलीले देशको आर्थिक स्थिति पहिलेको तुलनामा सुधार भएको र अहिलेको सरकारको नेतृत्वमा विभिन्न आर्थिक परिसूचकमा सुधार देखिएको दाबी गरे। उनले प्रस्तुत गरेका तथ्यांकमा भने, चालु आर्थिक वर्षको ६ महिनाको पूँजीगत खर्च १५ प्रतिशतले वृद्धि भएको, राजस्व संकलन १३ प्रतिशतले बढेको, र वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको उल्लेख गरे।

अर्थतन्त्रका अन्य सुधारहरूमा कर्जा प्रवाह ३५ अर्ब रुपैयाँले बढी भएको, विदेशी विनिमय सञ्चिति १६ अर्ब ७६ करोड अमेरिकी डलर पुगेको, र शोधनान्तर स्थिति वचत २ खर्व २५ अर्ब रहेको बताए। यद्यपि, ओलीले भने, “हामीले गर्न बाँकी काम अझै धेरै छन्।” तर, उनले यि उपलब्धिहरूलाई मुलुकको निराशावादी अवस्थामा सुधार ल्याउने एक ठूलो कदमको रूपमा प्रस्तुत गरे।