

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार संसद्मा विश्वासको मत लिने तमासाबाट मुक्त भएको बताउँदै नेपाली राजनीतिमा स्थायित्वको नयाँ आधार तयार भएको दाबी गरेका छन् ।
शुक्रबारबाट सुरू भएको सङ्घीय संसद् प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले अघिल्लो छ महिनामा देखिएको संसदीय स्थायित्वलाई सकारात्मक उपलब्धि भएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले विगतमा देखिएको अस्थिरता, सत्ता समीकरणका निरन्तर चलखेल, र मुलुकलाई अनिश्चिततातर्फ धकेल्ने परिपाटी अब अन्त्य भएको दाबी गरे ।
“गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहोरिन नपरेको एउटा सुखद पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु— सत्ताको नाममा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने, मुलुक र जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिको अब बन्ध्याकरण भएको छ,” उनले भने ।
उनले संसद्मा आफ्नो उपस्थिति जनता र संसद्को भरोसा तथा दृढताले भरिएको आत्मविश्वासका साथ रहेको बताए । प्रधानमन्त्री ओलीको यो भनाइलाई हालैको राजनीतिक स्थायित्व कायम गर्ने सरकारको प्रयासको रूपमा हेरिएको छ । उनले सरकार अब सुशासन, विकास र स्थिरताको यात्रामा केन्द्रित हुने पनि स्पष्ट पारे ।
बैठकमा सत्ता पक्षका सांसदहरूले प्रधानमन्त्रीको भनाइको समर्थन गरे भने प्रतिपक्षी दलहरूले भने सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । नयाँ अधिवेशनसँगै संसद्भित्र तीव्र बहस सुरू हुने संकेत देखिएको छ ।