संसद्को हिउँदे अधिवेशन सुरू, रास्वपाको बहिष्कारबीच प्रधानमन्त्री ओलीको सम्बोधन

संसद्को हिउँदे अधिवेशन सुरू, रास्वपाको बहिष्कारबीच प्रधानमन्त्री ओलीको सम्बोधन

काठमाडौं । संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि सुरू भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको बहिष्कारका बीच प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै विकास निर्माण, यातायात सुरक्षाका चुनौती, तथा सरकारको प्राथमिकताका विषयमा प्रकाश पारे । उनले बुटवल–पाल्पा सडकखण्डमा बारम्बार दुर्घटना हुने घटनालाई स्मरण गर्दै सरकार अब यातायात पूर्वाधारमा आमूल परिवर्तन ल्याउने अभियानमा लागेको बताए । यसै सन्दर्भमा, उनले हालै सम्पन्न भएको सिद्धबाबा सुरुङमार्ग ब्रेकथ्रु परियोजना उल्लेख गर्दै पाल्पा, स्याङ्जा, कास्की, गुल्मी, अर्घाखाँची र प्युठानलाई बुटवलसँग जोड्ने योजनाका बारेमा जानकारी गराए ।

प्रधानमन्त्री ओलीले चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवका आयोजनाहरू, जोगवनी–किमाथांका सडकमार्ग, बुटवल–नारायणगढ खण्ड, तथा मुग्लिन–पोखरा सडक विस्तारका विषयमा सरकारका उपलब्धिहरू प्रस्तुत गरे । उनले खेलकुद पूर्वाधारलाई प्राथमिकता दिँदै कीर्तिपुर क्रिकेट मैदानमा रंगशाला निर्माण तथा सुर्खेतमा आधुनिक कर्णाली रंगशाला निर्माणलाई महत्वपूर्ण उपलब्धि ठहर गरे ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकमा शीर्ष नेताहरूको धारणा प्रस्तुत गर्ने कार्यसूची तय भए पनि, रास्वपाका सांसदहरूले बैठकको बहिष्कार गर्दै आफ्ना मागहरूलाई प्राथमिकता दिनुपर्ने अडान लिएका छन् । संसद्को पहिलो दिन नै प्रमुख प्रतिपक्षी दलहरूको आक्रामक रवैयाले राजनीतिक वातावरण तातेको देखिएको छ ।