नेपाली कांग्रेस सांसदहरूको माग: संघीय निर्वाचन स्थानीय तहभन्दा पहिला गर्नुपर्छ

नेपाली कांग्रेस सांसदहरूको माग: संघीय निर्वाचन स्थानीय तहभन्दा पहिला गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा संघीय संसद्को आगामी निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा पहिला गर्नुपर्ने माग सांसदहरूले उठाएका छन् । शुक्रबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरूले संघीय संसद्को निर्वाचनलाई प्राथमिकता दिई स्थानीय तहको निर्वाचनभन्दा पहिला गराउन आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन् । बैठकमा सरकारको नीति तथा कार्यक्रम, क्षेत्रीय विकासका विषयहरू, र समसामयिक राजनीतिक परिस्थितिका बारेमा समेत छलफल भएको थियो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरूले आमनिर्वाचनलाई प्राथमिकता दिनुपर्ने भन्दै स्थानीय तहको निर्वाचनपछि गर्ने परिपाटी बदल्नुपर्ने धारणा राखेको बताए । उनले बैठकमा संसद्‌मा प्रस्तुत अध्यादेशहरू, बजेट कार्यान्वयन, तथा क्षेत्रीय विकास निर्माणका विषयमा सांसदहरूले चासो व्यक्त गरेको जानकारी गराए ।

उनका अनुसार, बैठकमा पाथीभरा केबलकार परियोजनामा देखिएको विवादबारे पनि छलफल भएको थियो । सम्बन्धित जिल्लाका सांसदहरूले यस विषयमा प्रश्न उठाएका थिए । घिमिरेका अनुसार, गृहमन्त्रीले यो विषय संसदीय मामिला मन्त्रालयअन्तर्गत पर्ने भएकाले समाधानका लागि सचिवस्तरीय वार्ता समिति गठन गरेर छलफल अघि बढाउने आश्वासन दिएका छन् । यस्तै, बैठकमा सांसदहरूले आगामी २४ गते पुनः बस्ने संसदीय दलको बैठकमा पार्टी पदाधिकारी र मन्त्रीहरूको धारणा सुन्ने अपेक्षा गरिएको बताएका छन् ।