सभापति कप फुटबल: संकटाको रोमाञ्चक जित, बागमतीलाई सडनडेथमा पराजित

सभापति कप फुटबल: संकटाको रोमाञ्चक जित, बागमतीलाई सडनडेथमा पराजित

काठमाडौँ। गोलकिपर दिप कार्कीको उत्कृष्ट प्रदर्शनको मद्दतले संकटा एफसीले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई पराजित गर्दै सभापति कप फुटबलको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा संकटा एफसीले सडनडेथमा ४-३ को रोमाञ्चक जित दर्ता गर्दै च्याम्पियन बनेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको थियो।

खेलको प्रारम्भिक चरणमा आयोजक टिमका गोलकिपर विकेस कुथुले संकटाका पहिलो दुई पेनाल्टी प्रहार बचाउँदै उत्कृष्ट सुरुवात दिलाएका थिए। तर, खेलको नाटकीय मोडले संकटालाई जिततर्फ डोऱ्यायो। संकटाका लागि लक्षु थापा, साम कार्लोस, दिप कार्की र सुनिल खड्काले गोल गरेका थिए।

संकटाका गोलकिपर दिप कार्कीले बागमतीका कुलदिप कार्की र गौरव श्रेष्ठको प्रहार रोक्दै टिमलाई जित दिलाए। बागमतीका रजत तिवारीको प्रहार पोष्टभन्दा बाहिर गएको थियो।

निर्धारित समयमा दुवै टोलीले गोलका लागि अवसर सिर्जना गरे पनि फिनिसिङमा चुके। प्रतियोगिताको विजेताले नगद २६ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १३ लाख रुपैयाँ हात पार्नेछ।