

प्रयागराज, भारत । उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलामा मौनी अमावस्याको दिन बुधबार बिहान अमृतस्नानका क्रममा भागदौड हुँदा ३० जनाको मृत्यु भएको छ।
डिआइजी महाकुम्भ वैभव कृष्णका अनुसार, २५ जनाको सनाखत भइसकेको छ भने बाँकी ५ जनाको सनाखत हुन बाँकी छ। घटनामा ६० जना घाइते भएका छन्, जसमध्ये ३६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने अन्यलाई प्राथमिक उपचारपछि घर पठाइएको छ।
प्रशासनका अनुसार, केही व्यक्तिले ब्यारिकेड तोडेर अगाडि बढ्ने प्रयास गर्दा भीडको दबाब बढ्दै गएर दुर्घटना भएको हो। डीआईजी वैभव कृष्णले ब्रह्म मुहूर्त अघि नै ठूलो संख्यामा भक्तजन उपस्थित भएकाले स्थिति बिग्रिएको बताए। प्रहरी प्रशासनले ९० जनालाई अस्पताल पुर्याएको थियो।
भागदौडपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको र थप क्षति हुन नदिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उत्तर प्रदेश प्रहरीको द्रुत प्रतिक्रियाका कारण ठूलो दुर्घटना टरेको स्थानीयको भनाइ छ।
मौनी अमावस्याका अवसरमा महाकुम्भ मेलामा लाखौं भक्तजन भेला भएका थिए। सुरक्षा उपाय कडा पार्दै प्रशासनले मेला क्षेत्रमा सवारी साधन निषेधित क्षेत्र घोषणा गरेको छ। प्रयागराज आसपासका पाँच जिल्लाबाट आउने सवारी साधनहरू सिमानामै रोकिएका छन् भने शहरभित्र चारपाङ्ग्रे सवारीको प्रवेशमा समेत रोक लगाइएको छ।