काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिसहित समाजका सबै क्षेत्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै कुनै ‘स्टन्टबाजी’बाट देश नचल्ने स्पष्ट पारेका छन्। नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलन २०२५ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताप्रति इमानदारिता र बफादारिताका साथ सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताए। उनले देशलाई भद्रगोल अवस्थाबाट मुक्त गर्न जिम्मेवार नेतृत्व र नागरिकको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे।
प्रधानमन्त्री ओलीले शान्ति, सुरक्षा, सुशासन र समृद्धि कायम गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिँदै, सांसदहरूले कानुन बनाउँदा सार्वभौम जनताको प्रतिनिधिका रूपमा सोच्नुपर्ने बताए। साथै, सरकारलाई ‘म नै सबथोक हुँ’ भन्ने भ्रम नपाल्नुपर्ने सुझाव दिए।
उनले भने, ‘संसद्ले न्यायपूर्ण कानुन बनाउनुपर्छ, सम्बन्धित निकायहरू त्यसअनुसार चल्नुपर्छ। लोकतन्त्रमा सन्तुलन र नियन्त्रणको सिद्धान्त अनिवार्य छ। कानुन व्यवसायीहरूको सक्रिय भूमिका सुशासनयुक्त, भ्रष्टाचारमुक्त, समृद्ध नेपाल निर्माणमा महत्त्वपूर्ण हुनेछ भन्ने विश्वास लिएको छु।’
प्रधानमन्त्री ओलीले सम्मेलनका निष्कर्षहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहने बताए। साथै, युवा कानुन व्यवसायीहरूले न्यून पारिश्रमिक पाउने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राख्दै सरकार कानुन व्यवसायी र युवाहरूको साथमा रहेको प्रस्ट पारे।
कार्यक्रममा अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो भने युवा कानुन व्यवसायी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको थियो।