

काठमाडौँ । एन्फा महिला लिगको उपाधि एपिएफ क्लबले आफ्नो नाममा लेखाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपिएफले उपाधि जितेको हो।
एपिएफको जितमा सबिता राना मगरले २ गोल गरिन् भने सरु लिम्बु र अनु लामाले समान १–१ गोल गर्दै टोलीलाई सानदार जित दिलाए।
प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ६४औं मिनेटमा सबिताले गोल गर्दै एपिएफलाई अग्रता दिलाइन्। त्यसको ६ मिनेटपछि सरु लिम्बुले थप गोल गर्दै अग्रता दोब्बर बनाइन्। ८४औं मिनेटमा सबिताले व्यक्तिगत दोस्रो गोल गरिन् भने इन्जुरी समयमा वैकल्पिक खेलाडी अनु लामाले गोल गर्दै ४–० को प्रभावशाली जित पक्का गरिन्।
अपराजित रहँदै च्याम्पियन बनेको एपिएफले पहिलो चरणको लिगमा ९ खेलमध्ये ८ मा जित र १ खेल बराबरी खेलेको थियो। उपाधिसँगै एपिएफले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता नेपाल पुलिस क्लबले ५ लाख रुपैयाँ हात पार्यो।