नेपाल–भारत मैत्री पशुपति धर्मशाला उदघाटन

नेपाल–भारत मैत्री पशुपति धर्मशाला उदघाटन

काठमाडौँ, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिमा निर्मित नेपाल–भारत मैत्री पशुपति धर्मशालाको आज संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

करीब रु २० करोडको लागतमा १० हजार वर्गमिटर क्षेत्रफलमा निर्मित उक्त धर्मशाला भारतीय सहयोगमा बनेको हो । उद्घाटनपश्चात् प्रधानमन्त्रीद्वयले सम्बोधन गर्नुभएको थियो ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो शिखर सम्मेलनमा भाग लिएर स्वदेश फकर्नुअघि भारतीय प्रधानमन्त्री मोदी पशुपति नाथ मन्दिरको दर्शनका लागि पुग्नुभएको थियो ।
भारत सरकार र पशुपति क्षेत्र विकास कोषबीच भएको समझदारी पत्रअनुरुप २२ करोड रुपैयाँ भारतीय अनुदान सहयोगमा पशुपति मन्दिर क्षेत्रमा कोषको स्वामित्वअन्तर्गत धर्मशाला निर्माण सम्पन्न भएको हो । उक्त धर्मशालाको क्षेत्रफल १० हजार ६ सय २५ वर्ग मिटर रहेको छ भने भवनले ६१ सय वर्ग मिटर एरिया कभर गरेको छ ।

तीनतले सो धर्मशालामा तीर्थयात्रीहरूका लागि आधुनिक सुविधाको प्रबन्ध गरिएको छ, जहाँ एक शैया, दुई शैया, चार शैया, दश शैया तथा बाह्र शैयाका कक्ष, भान्छा कोठा, भोजन गर्ने हल, पुस्तकालय, बहुउद्देश्यीय हल, ‘वाटर ट्रिटमेन्ट प्लान्ट’, सोलार हिटर र जेनेरेटरको व्यवस्था रहेको बताइएको छ ।

भारत सरकारद्वारा आज पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको उक्त आयोजनाको निर्माण कार्य सेप्टेम्बर २०१६ मा शुरु भएको थियो । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने तीर्थालुहरूलाई यस धर्मशालाले उपलब्ध गराउने सुविधाको व्यवस्थापन गर्ने सहमति बनेको छ ।

नेपाल–भारत मैत्री पशुपति धर्मशाला दुई देशबीचको साँस्कृतिक सम्बन्ध तथा जनताहरुबीचको सम्पर्कलाई अझ सुदृढ गर्ने दिशामा अर्को कोशेढुंगा साबित भएको सम्बद्ध पक्षको भनाई छ । राससकाे सहयाेगमा