पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा फर्किने संकेत

पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा फर्किने संकेत

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्कने स्पष्ट संकेत दिएकी छन्। दुई कार्यकालसम्म मुलुकको सर्वोच्च पदमा रहेकी भण्डारीले एमाले राजनीतिमा पुन: सक्रियरूपमा जोडिने सङ्केत गरेकी हुन्।

हाल उनी एमालेका नेता तथा कार्यकर्ताहरूसँग निरन्तर संवाद गरिरहेकी छन्। काठमाडौंमा रहँदा केन्द्रीय नेताहरूसँग भेटघाट गर्ने तथा बाहिर जाँदा जिल्ला तहका कार्यकर्ताहरूसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्ने गरेको एमाले नेताहरू बताउँछन्।

एमालेकी पूर्व उपाध्यक्षसमेत रहेकी भण्डारीको पुनरागमनको चर्चा एमालेभित्र तिव्र बनेको छ। तर, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने यसप्रति उत्साहित छैनन्। ओलीकै नेतृत्वमा राष्ट्रपति बनेकी भण्डारी फेरि एमालेमै सक्रिय हुने विषयलाई उनले अस्वाभाविक मानेका छन्। पार्टीभित्रैबाट भण्डारीलाई राजनीतिक रूपमा उक्साउने गतिविधिहरूप्रति ओलीले सचेत गराइसकेका छन्।

एमालेभित्र ओलीको कट्टर समर्थक समूह बाहेकको एउटा पंक्ति भण्डारीको पुनरागमनलाई सकारात्मक रूपमा लिँदैछ। विशेषगरी, ओली निकटका नभएका तथा उनको कोर टिममा नपरेका नेता तथा कार्यकर्ताहरू भण्डारीको राजनीतिक सक्रियता आवश्यक रहेको तर्क गर्दैछन्।

ओली अहिले एमालेमा निर्विवाद रूपमा सर्वेसर्वा छन्। उनलाई चुनौती दिने जो कोहीलाई कारबाही भोग्नुपरेको छ। यस्तो परिस्थितिमा ओलीको हुकुमी शैलीविरुद्ध आवाज उठाउन भण्डारीको राजनीतिमा पुनरागमन आवश्यक भएको तर्क गर्नेहरू छन्।

मदन भण्डारीकी धर्मपत्नी भएकाले विद्याको एमालेभित्र बलियो प्रभाव छ। यदि उनी सक्रिय राजनीतिमा फर्किएमा, ओलीको पकड कमजोर हुने आंकलन कतिपय एमाले वृत्तमा भइरहेको छ। यही कारण भण्डारीलाई पुन: राजनीतिमा ल्याउने एउटा समूह सक्रिय छ, जुन ओलीका लागि चिन्ताको विषय बन्न सक्छ।

भण्डारीको विराटनगर सन्देश

विराटनगरमा रहेकी भण्डारीले आफ्ना गतिविधिबाट राजनीतिमा पुन: फर्कने संकेत दिएकी छन्। उनले आफू अहिले राष्ट्रपतिको भूमिकामा नरहेको स्पष्ट पार्दै एमालेमै रहेको बताइन्। ‘म अहिले राष्ट्रपति छैन, एमालेमा त होला नि?’ भन्दै उनले आफ्नो राजनीतिक अवस्थालाई इंगित गरिन्।

भेटघाटका क्रममा उनले एमाले नेताहरूसँगको दूरी बढ्दै गएको उल्लेख गर्दै आफू साझा भूमिकामा रहेको बताइन्। विराटनगरस्थित विग होटलमा बसेकी भण्डारीलाई भेट्न सोमबार साँझ एमालेका दर्जनभन्दा बढी नेताहरू पुगेका थिए, जसमा स्थायी कमिटी सदस्यहरू समेत सहभागी थिए।

उनको पछिल्ला गतिविधिहरूले उनी सक्रिय राजनीतिमा फर्किन सक्ने प्रस्ट सङ्केत मिलेको छ। अब उनले एमालेमा कुन भूमिकामा आफूलाई प्रस्तुत गर्छिन् भन्नेचाहिँ चासोको विषय बन्न पुगेको छ।