काठमाडौं । प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा स्वतन्त्रताको रक्षा लागि जीवन बलिदान दिने शहीदहरूको सम्मानमा आज विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ।वि.सं. २००७ पछि प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने परम्परा रहेको छ। तर, शहीदहरूको सपना साकार पार्न अझै धेरै गर्न बाँकी रहेको गुनासो उठ्ने गरेको छ। दिवसको अवसरमा हरेक वर्ष औपचारिक कार्यक्रममार्फत जिम्मेवार अधिकारीहरूले प्रतिबद्धता व्यक्त गरे पनि त्यसलाई पूर्णरूपमा कार्यान्वयन गर्न नसकिएको जनाइएको छ।
यस वर्ष माघ १० देखि १६ गतेसम्म विविध कार्यक्रमसहित शहीद सप्ताह मनाइँदै आएको छ। वि.सं. २०१२ देखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजनमा माघ १६ गते शहीद दिवस औपचारिक रूपमा मनाउन थालिएको हो।
शहीदहरूको बलिदान र सम्झना
राणा शासनविरुद्ध स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा तथा माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा मृत्युदण्ड दिइएको थियो। उनीहरूको बलिदानलाई स्मरण गर्दै यो दिवस मनाइँदै आएको हो।
आज बिहान शान्ति वाटिका (रत्नपार्क) देखि शहीद स्मारक (लैनचौर) सम्म प्रभातफेरी आयोजना गरिने छ। प्रधानमन्त्री, मन्त्री, उच्च पदस्थ सरकारी अधिकारी, जनप्रतिनिधि तथा सुरक्षा निकायका टोलीको सहभागितामा मार्चपाससहित शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिने कार्यक्रम रहेको छ।
राष्ट्रिय शहीद स्मारकमा विशेष कार्यक्रम
वि.सं. २०६४ जेठ ११ गते मन्त्रिपरिषद्को निर्णयअनुसार गोकर्णेश्वरमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारकमा विशेष कार्यक्रमको तयारी गरिएको छ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहने जनाइएको छ।
यसअघि वि.सं. २०६३ सम्म शहीद दिवसका अवसरमा सहिद गेटमा विशेष कार्यक्रम गरिन्थ्यो। पछिल्ला वर्षहरूमा भने लैनचौरस्थित शहीद स्मारकलाई औपचारिक कार्यक्रमको मुख्य स्थल बनाइएको छ। सहिद गेटमा पनि विभिन्न संघसंस्थाले आफ्ना कार्यक्रम सञ्चालन गर्ने गरेका छन्।
गणतन्त्र स्मारकमा श्रद्धाञ्जली स्थल निर्माण
नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदहरूको सम्मानमा श्रद्धाञ्जली स्थल बनाइने घोषणा गरिएको छ। राष्ट्रपतिदेखि उच्चपदस्थ अधिकारीहरूले पदभार ग्रहण गर्दा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने परम्परा विकास गर्ने योजना बनाइएको छ। साथै, नेपाल भ्रमण गर्ने विदेशी पाहुनाहरूले पनि शहीदप्रति सम्मानस्वरूप पुष्पगुच्छा अर्पण गर्ने स्थलको व्यवस्था गरिने जनाइएको छ।