महाकुम्भ मेलामा भागदौड: कम्तीमा १५ जनाको मृत्यु, कैयौं घाइते

महाकुम्भ मेलामा भागदौड: कम्तीमा १५ जनाको मृत्यु, कैयौं घाइते

उत्तर प्रदेश । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा आज भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। प्राप्त जानकारीअनुसार मृतक सङ्ख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। ब्यारिकेडका कारण सिमित स्थानमा भीड थिचिएपछि अचानक भागदौड सुरु भएको बताइन्छ। भीड नियन्त्रण गर्न नसक्दा धेरै मानिस कुल्चिएका थिए।

यस वर्ष महाकुम्भ मेलामा भीड व्यवस्थापनका लागि सुरक्षाकर्मीहरूले विशेष उपाय अपनाएका छन्। महोत्सव स्थलका विभिन्न सडकहरूमा सयौं निगरानी क्यामेरा जडान गरिनुका साथै ओभरहेड ड्रोनहरू परिचालन गरिएको छ।

महाकुम्भ मेलाका क्रममा करिब डेढ महिनामा ४० करोडभन्दा बढी भक्तजनको उपस्थितिको अनुमान गरिएको छ। यसअघि, सन् १९५४ को कुम्भ मेलामा भागदौडका कारण कम्तीमा ४ सय जनाले ज्यान गुमाएका थिए भने सन् २०१३ मा ३६ जनाको मृत्यु भएको थियो।