

काठमाडौं। काठमाडौं जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’ को प्रदर्शन रोक्न अन्तरकालिन आदेश जारी गरेको छ। अदालतले दुबै पक्षलाई छलफलका लागि माघ २२ गते उपस्थित हुन आदेश दिएको छ।
नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिका तर्फबाट दायर गरिएको रिटमा अदालतले मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासमार्फत अन्तरकालिन आदेश जारी गरेको हो। यज्ञमणी न्यौपानेका अनुसार अदालतको आदेशले प्रत्यार्थी झिकाउन निर्देशन दिएको छ।
फिल्मका निर्माताहरूले ‘एक्टर : टेक वन’ को नाम र कथावस्तु हुबहु चोरी गरिएको भन्दै शुक्रबार रिट दायर गरेका थिए। राजन भुसाल निर्देशित यो फिल्म बुधबारदेखि प्रदर्शनको तयारीमा थियो। तर, नाम र कथासम्बन्धी विवादका कारण प्रदर्शन रोकिएको हो।
रिटमा प्रतिलिपि अधिकार अन्तर्गत कानूनी कारबाही गरी उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ। साथै, चलचित्र विकास बोर्ड, अदृत फिल्म्स, र मोती फिल्म्सलाई विपक्षी बनाइएको छ।
रिटमा ‘एक्टर : टेक वन’ लाई कुनै पनि माध्यमबाट (चलचित्रघर, डिजिटल प्लेटफर्म, वा टेलिभिजन) प्रदर्शन नगर्न आदेश जारी गर्न माग गरिएको छ। निवेदक पक्षले फिल्मको नाम र कथावस्तु मौलिकजस्तो देखिने गरी चोरी गरिएको र कानूनी प्रावधान उल्लंघन भएको आरोप लगाएका छन्। यस विषयमा अदालतले माघ २२ गते छलफलपछि थप निर्णय गर्नेछ। हाललाई फिल्मको प्रदर्शन स्थगित गरिएको छ।
