

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार २०८४ सालको मंसिरमा मात्र परिवर्तन हुने स्पष्ट पारेका छन्। एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै अस्थिरता फैलाउने प्रयास भइरहेको बताए।
ओलीले भने, ‘सरकार ढल्छ भनेर मिति तोकेका तोकै छन्। यो सरकार २०८४ को निर्वाचनपछि मात्रै परिवर्तन हुनेछ। यसअघि सरकार ढल्ने भ्रममा नपरौं।’ उनले प्रचण्डले पछिल्लो समय सरकार ढल्ने हल्ला चलाएको भन्दै त्यसलाई गलत प्रचार भने। प्रधानमन्त्री ओलीले आफ्नो र श्रीमतीको नाममा स्वीस बैंकमा पैसा राखिएको भनी गरिएको प्रचारप्रति असन्तुष्टि जनाए। उनले यो आरोप पूर्णतः झूटो र आधारहीन भएको दाबी गरे।
ओलीले बैठकमा सांसदहरूलाई सत्यतथ्यमा आधारित भएर संसदमा बहस गर्न निर्देशन दिए। उनले सरकारले ल्याएका विभिन्न अध्यादेशहरूले देशलाई समृद्धि तर्फ लैजाने प्रयासमा योगदान पुर्याएको भन्दै यी अध्यादेशप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको जानकारी दिए।
‘सरकारले ल्याएको अध्यादेशले २९ वटा कानुनमा संशोधन गरेको छ। छिट्टै प्रतिस्थापन विधेयक ल्याएर यी कानुनलाई स्थायीत्व प्रदान गर्नेछौं,’ उनले भने। ओलीले युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न, उद्योग–व्यवसाय सञ्चालन गर्न सहज वातावरण निर्माण गर्न र जनसेवामा प्रभावकारिता ल्याउन सरकार अग्रसर रहेको बताए।
प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र जनताको सुशासनका पक्षमा दृढताका साथ उभिनुपर्नेमा जोड दिए। उनले छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित, मित्रतापूर्ण र पारस्परिक लाभका आधारमा सम्बन्ध सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए।
‘नेपालले छिमेकीसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राख्छ। दुबै छिमेकको विकासबाट लाभ लिने रणनीति अवलम्बन गर्नेछ,’ उनले भने। साथै, अन्तर्राष्ट्रिय सम्बन्धलाई थप प्रभावकारी र स्पष्ट बनाउने प्रतिबद्धता पनि जनाए। प्रधानमन्त्रीले सांसदहरूलाई सदनमा संयमित र जिम्मेवार रूपमा प्रस्तुत हुन आग्रह गर्दै गलत आरोप र भ्रमको रचनात्मक प्रतिवाद गर्न निर्देशन दिए।