वामदेव गौतमले नयाँ पार्टी विस्तारको तयारी थाले

वामदेव गौतमले नयाँ पार्टी विस्तारको तयारी थाले

काठमाडौं। नेकपा एकता अभियानका संयोजक वामदेव गौतम न एमालेमा अटाउन सके, न एकीकृत समाजवादी पार्टीमा। अन्ततः उनले आफ्नै संगठन विस्तार गरेर अघि बढ्ने निष्कर्ष निकालेका छन्। गौतमले एमाले र एकीकृत समाजवादी दुवै पार्टीबाट धोका पाएपछि आफ्नै पार्टी विस्तार गर्न लागेको उनी निकट स्रोतले जनाएको छ।

एकता अभियानका महासचिव डीबी कार्कीका अनुसार, वामदेव गौतमलाई एमालेले ‘भीम रावलमाथि कारबाही गरेपछि पार्टीमा आउने’ भनिएको थियो। तर, यो केवल एमालेको ‘पहिरो रोक्ने’ रणनीति मात्रै भएको कार्कीको दाबी छ।

‘भीम रावललाई निकालेपछि एमालेमा पहिरो जस्तै अवस्था सिर्जना भएको थियो। वामदेव आउँदैछन् भनेर एमालेले त्यो पहिरो रोक्ने प्रयास मात्रै गर्‍यो,’ कार्कीले भने। साथै उनले गौतमलाई ‘शब्दजालमा फसाएर’ एमालेमा प्रवेश गराउने प्रयास गरिएको आरोप लगाए।

महासचिव कार्कीका अनुसार, एकता अभियानले तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने सम्भावना नरहेको छ। नेकपा (एकीकृत समाजवादी)सँग पनि केही महिना एकता हुने सम्भावना नरहेको उनको भनाइ छ। अब वामदेव गौतमले आफ्नो संगठनलाई संस्थागत गर्दै राजनीतिक यात्रामा नयाँ अध्याय सुरु गर्ने तयारी गरेका छन्।