नेपाल निजामती कर्मचारी युनियन सर्लाहीको अधिवेशन विवादित, अविलम्ब निर्वाचन प्रक्रिया शुरु गरी अधिवेशन गर्न माग

नेपाल निजामती कर्मचारी युनियन सर्लाहीको अधिवेशन विवादित, अविलम्ब निर्वाचन प्रक्रिया शुरु गरी अधिवेशन गर्न माग

काठमाडाैं । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति सर्लाहीको अधिवेशन विवादित बनेकाे छ । गत पुस १३ गते नबौँ जिल्ला अधिवेशनको उद्घाटन समारोह पश्चात बन्दसत्रमा निर्वाचन प्रक्रिया नै शुरु नगरिएपछि अधिवेशनकाे गुटगत विवाद सतहमा आएकाे हाे ।

जिल्ला सभाका सदस्यहरुलाई थाहा नै नदिई केही व्यक्तिहरुले विधान विपरीत एकलौटी रुपमा कार्यसमिति चयन गरेकोमा अर्काे पक्ष आक्राेशित भएकाे छ । याे जिल्ला कार्यसमिति केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि समेत प्रति जिल्ला सभाका बहुमत सदस्यहरुले असहमति जनाउँदै ८४ जनाकाे हस्ताक्षरसहित कर्मचारी युनियन केन्द्रीय कार्यसमिति प्रति निर्वाचन प्रक्रिया शुरु गरी अधिवेशन सम्पन्न गर्न माग गरेका छन् ।

उनीहरुले नेपाल निजामती कर्मचारी युनियनको विधान, २०५९ (सातौ संशोधन, २०८०) बमोजिम अविलम्ब निर्वाचन प्रक्रिया शुरु गरी अधिवेशन सम्पन्न गर्न लागि तहाँ केन्द्रीय कार्यसमितिबाट जिल्ला कार्यसमिति सर्लाहीलाई आवश्यक निर्देशन हुन अनुरोध गरेका छन् । सर्लाही जिल्ला युनियनका सदस्य आत्माराम रायले भने- ‘केही व्यक्तिहरुले विधान विपरीत एकलौटी रुपमा कार्यसमिति चयन गर्नु लाेकतान्त्रिक विधि र मान्यता विपरीत भएकाे छ, याे सच्याउन केन्द्रीय कार्यसमितिबाट जिल्ला कार्यसमिति सर्लाहीलाई आवश्यक निर्देशन हुनुपर्छ । यदि हाम्राे मागकाे सुनुवाई भएन भने कानूनी उपचारको बाटो रोज्न बाध्य हुनेछौँ ।’

गत पुस १४ गते केन्द्रीय समितिलाई यो सच्याउन आवश्यक निर्देशन दिनु भनेर माग गरे पनि एक महिना बितिसक्दा समेत केहि नभएकोले युनियनका बहुमत सदस्यहरु थप आक्रोशीत भएका छन् । युनियनको आठौं राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि २०७८ सालमा अध्यक्ष बनेका गोपालप्रसाद पोख्रेलसंग यो विषयकाबारेमा बुझ्न सम्पर्क गर्दा उनको मोबाइल स्विच अफ गरिएको छ ।