काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी शनिबारदेखि १६ घण्टा सञ्चालन हुने भएको छ। पूर्वाधार विस्तारका कारण गत कात्तिकदेखि १४ घण्टा मात्र सञ्चालनमा रहेको विमानस्थल अब ८ घण्टा मात्र बन्द हुने भएको हो।
यसअघि राति १० बजेदेखि उडान बन्द हुँदै आएको विमानस्थल आगामी शनिबारदेखि राति ११ बजे बन्द भएर बिहान ७ बजे खुल्नेछ। अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी, ह्यांगर निर्माणलगायतका पूर्वाधार निर्माणका लागि धावनमार्ग बन्द गर्नुपर्ने भएपछि कात्तिक २३ यता १४ घण्टा मात्र विमानस्थल सञ्चालन हुँदै आएको छ।
उडान समय घटेपछि राति १० बजेदेखि २ बजेसम्म र बिहान ६ बजेदेखि ८ बजेसम्मका उडानहरू कटौती तथा अघिपछि सारिएको थियो। यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत १८ गतेसम्म राति १० बजेदेखि बिहान ८ बजेसम्म उडान रोकेर काम गर्न भन्दै नोटाम जारी गरेर विमानस्थलभित्र तीन वटा फरक–फरक आयोजनाको काम अघि बढाएको थियो।
रनवेसँग जोडिएका जटिल काम सम्पन्न भएसँगै उडान समय दुई घण्टा थपिएको हो। विमानस्थलभित्र सञ्चालित तीन वटै आयोजनाको ४० प्रतिशत भौतिक कार्य सकिएको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक इन्जिनियर दीपेन्द्र श्रेष्ठले जानकारी दिए। सन् २०२६ पछि वार्षिक झन्डै १ करोड यात्रुलाई सेवा दिने लक्ष्यसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वाधार विस्तार थालिएको हो।