

काठमाडौं, १५ भदौ । देश संघीय संरचनामा गएपछि सोही संरचनाका आधारमा विधान संशोधन हुँदै गर्दा कांग्रेसमा केन्द्रीय सभापतिलाई अझै बलियो बनाउने कि सामूहिक नेतृत्व प्रणालीमा लाने भन्नेमा बहस सुरु भएको छ । विधान मस्यौदा समितिको बिहीबारको बैठकमा समितिकै सदस्यहरूले केन्द्रीय सभापतिदेखि सदस्यता वितरणको प्रक्रियासहितका विषयमा आ–आफ्ना तर्क राखेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं ।
सभापति शेरबहादुर देउवानिकट नेताहरू मानबहादुर विश्वकर्मा र फरमुल्लाह मन्सुरले यसअघि वितरण गरिएजस्तै साधारण र क्रियाशील सदस्यता वितरण गर्नुपर्ने, पार्टीलाई क्याडरबेसमा लानुपर्ने, सदस्यतामा अझै कडाइ गर्नुपर्ने र कडा अनुशासनमा पार्टी चलाउनुपर्ने बताए । उनीहरूले सभापतिलाई थप बलियो बनाउन केन्द्रमा सभापतिबाहेकका पदाधिकारी मनोनीत गर्न पाउने आशय व्यक्त गरेको खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
कांग्रेस केन्द्रमा सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुन्छन् । उपभापति, महामन्त्री र सहमहामन्त्री गरी तीनजना सभापतिबाट मनोनीत हुन्छन् । यस्तो हुँदा गुट र उपगुट मौलाएको कांग्रेसमा महाविधेशनबाट अलग गुटका नेता पदाधिकारी पुग्छन् । सभापति एउटा लाइनको हुँदा महामन्त्री अर्को गुटबाट जित्न सक्छ । यस्तो हुँदा सभापतिले काम गर्न नसक्ने मत एकथरी नेताहरूले गर्दै आएका छन् ।