रुखमा भोट हाल्नुस्, विकास हुन्छ, ढुक्क हुनुहोस् : डा.आरजु

रुखमा भोट हाल्नुस्, विकास हुन्छ, ढुक्क हुनुहोस् : डा.आरजु

धनगढी । कांग्रेस नेतृ तथा प्रतिनिधि सभामा कैलाली क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसका उम्मेद्वार डा.आरजु राणा देउवाले मंसिर २१ गतेको निर्वाचनमा निर्भयतापूर्वक नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न मतदातालाई आग्रह गरेकी छिन् । आइतबार धनगढी उपमहानगरपालिकाका दर्जन बढि चुनावी सभामा बोल्दै नेतृ डा. देउवाले निर्भयतापूर्वक नआत्तिइकन नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेकी हुन् । बिहान समयमै गएर विवेक प्रयोग गरि मतको सदुपयोग गर्नुहोला’ उनले भनिन् ‘नआत्तिइकन रुखमा मत खसाल्नुहोस्, यस क्षेत्रको विकास हुन्छ, ढुक्क हुनुहोस् । ’

चुनावी सभाहरुमा बोल्दै नेतृ देउवाले विकास र समृद्धि कांग्रेसले मात्रै गर्ने बताए । “वाम गठबन्धनलाई भोट हाल्नु भनेको देशमा गरिबी निम्त्याउनु हो, विकास र समृद्धिको लागि नेपाली कांग्रेस नै चाहिन्छ,” नेतृ डा. राणाले भनिन्। उनले कम्युनिष्टहरुले जनतालाई सुखी र सम्पन्न नबनाउने कुराको उदाहरण प्रस्तुत गर्दै भनिन्,“कम्युनिष्ट शासन भएको उत्तर कोरिया झन् झन् गरिब हुँदैछ र लोकतान्त्रिक व्यवस्था अंगालेको दक्षिण कोरीयामा तीव्र आर्थिक वृद्धि भइरहेको छ,अब भन्नुस् के रोज्ने ?’

धनगढी उपमहानगरपालिकामा डुबानको समस्या भएको भन्दै उनले नदी कटान रोकथाम र डुवान नियन्त्रणका लागि ठूला आयोजनाहरु सञ्चालन गर्नुपर्ने बतार्इन्। ‘डुबान र कटानका लागि जिल्लाका इन्जिनियरसँग कुराकानी भइरहेको छ’उनले भनिन्  ‘स्थानीय सरकार, प्रदेश सरकार र राष्ट्रिय सरकारको समन्वयमा यो समस्या सामाधान गर्न सकिन्छ ।’

उनले उपमहानगरपालिकामा नेपालीका कांग्रेसका प्रतिनिधि भएकोले पनि प्रदेश र केन्द्रमा पनि कांग्रेसकै प्रतिनिधि भए विकास निमार्णले गति लिने उनको भनाइ थियो । ‘विचार मिल्ने, एउटै उद्देश्य भएको फुटबल टोलीले छिट्टै गोल हान्न सक्छ ’ नेतृ डा. देउवाले भनिन्  ‘मेयर र उपमेयर कांग्रेसकै भएकोले आफूले जिते क्षेत्र नम्बर ५ मा सोचे अनुसार विकास गर्न सकिन्छ । ’

पहिलो पटक कैलाली ५नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेकी डा. आरजुले भनिन् ‘मैले चुलोमा खाना बसाएर खाना पाकिसके पछि मात्रै बाहिर निस्कने संस्कार पाएको छु । मैले बोलेका बाचा जसरी पनि पूरा गर्छु, ढुक्क हुनुहोस् ।’

उपमहानगरपालिकाका थुप्रै वस्तिमा लाजपुर्जा सम्मस्या रहेको भन्दै नेतृ देउवाले यो समस्याप्रति गम्भिर रहेको बताउनुभयो ।  ‘सुकुम्बासी र लालपुर्जा नभएका थुप्रै बस्तिहरु छन्’ उनले भनिन् ‘म सबै समस्याहरुप्रति गम्भीर छु,समस्या सामाधानका लागि तत्काल पहल थाल्नेछु ।’ चुनाव आउनै लाग्दा नेतृ देउवाले प्रचार प्रसार पनि तीव्र पारेकी छन् । कैलाली क्षेत्र नम्बर ५ को निर्वाचनलाई राष्ट्रिय स्तरबाट नै अत्यन्त उत्सुकतापूर्वक हेरिएको छ ।