एसिया कप छनोटमा नेपालको लगातार दोस्रो हार, युएईंसँग पनि पराजित

एसिया कप छनोटमा नेपालको लगातार दोस्रो हार, युएईंसँग पनि पराजित

एजेन्सी, १४ भदाै । मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपाल १७६ रनमा अल आउट भएपछि ७८ रनले पराजित हुन पुगेको हो ।

हिजोको खेलमा पनि ओमानविरुद्ध सात विकेटले पराजित भएको नेपाल राउन्ड रोविन लिगमा शीर्ष दुईमा परेर उपाधि भिडन्त गर्ने सम्भावना पनि कमजोर देखिएको छ ।

२५५ रन पछ्याउने क्रममा नेपालले शुरुआतदेखिनै राम्रो गर्न सकेन् । युएईका अहमद राजाले ४ तथा, मोहम्द नाभेदले ३ विकेट लिएका थिए ।
युएईंले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ७६ रनमात्र बनाउन सक्यो । नेपालका लागि ओपनर सुवास खकुरेलले ५० रनको अर्धशतकीय इनिङ्स खेलेपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । दीपेन्द्रसिंह ऐरीले ४० रन जोडे । कप्तान पारस खड्का १६ रनमा आउट भए ।

ओमानविरुद्धको खेलमा राम्रो प्रदर्शन गरेका सागर पुन ३ तथा ज्ञानेन्द्र मल्ल ४ रनमै आउट भए । यस्तै आरिफ शेख ३ रनमा तथा करण केसी शुन्य रनमै आउट भए । नवौं विकेटको लागि सोमपाल कामी र बसन्त रेग्मीले ३४ रनको साझेदारी गरेपनि नेपाललाई जित दिलाउन सकेन । बसन्त १२ रनमा आउट भए । सोमपाल कामी २७ रनमा नटआउट तथा सन्दीप लामिछाने २ रनमा आउट भए ।

युएईंका अहमेद राजाले ४ तथा मोहम्मद नाभिदले ३ विकेट लिए । यस्तै अमिर हायातले दुई तथा अस्पाक अहमेदले एक विकेट लिए ।