

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसद अधिवेशनको पहिलो दिनमै अध्यादेशहरु पेश हुने बताएका छन् । उनले सरकाले छिट्टै अधिवेशन बोलाउने र पहिलो दिनमै अध्यादेश पेश गरिने बताए ।
नेपाल प्रेस युनियनले महेन्द्रनगरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘चाँडै संसद्को अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको छ । अधिवेशन बोलाउने बित्तिकै पहिलो दिन अध्यादेश प्रस्तुत हुन्छन् ।’
उनले अध्यादेशपछि संसदले प्रतिस्थापन गर्ने कानुन बनाउने बताए । गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेको सरकार मुलुकमा लगानीको वातावरण लागिपरेको बताए ।
उनले सरकारले मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने, सुशासन कायम गर्ने, मुलुकमा दिगो शान्ती, विकास र समृद्धिको यात्रालाई अगाडि बढाउने लक्ष्य लिएको बताए । उनले अध्यादेश अत्यावश्यक भएकैले सरकारले ल्याएको प्रष्ट पारे ।