

काठमाडौं । आइसिसी यु १९ महिला विश्व कपको आफ्नो पहिलाे खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । बंगलादेशले नेपाललाई ५ विकेटले पराजित गरेको हो । ५३ रनको झिनो लक्ष्य बंगलादेशले १३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । बंगलादेशको जितमा सदिया स्लामले सर्वाधिक १६, सुमैया अख्तरले १२ रन जोडिन् । बंगलादेशका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि कप्तान पूजा महतो, रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १ विकेट लिइन् । त्यसअघि मलेसियास्थित युकेएम ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा अल आउट हुँदै ५२ रनको झिनो योगफल तयार गर्यो ।
नेपालकी ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् । सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । बंगलादेशका जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिए । नेपालका ५ ब्याटर रन आउट भए ।
नेपाली महिला यु १९ टिमको समूह चरणको दोस्रो खेलमा जनवरी २०(माघ ७ गते) स्कटल्यान्डसँग खेल्नेछ । समूह चरणको अन्तिम तथा तेस्रो खेलमा नेपाल जनवरी २२(माघ ९ गते) अस्ट्रेलियासँग खेल्नेछ । आइसिसी यु १९ महिला विश्व कपमा १६ राष्ट्रको सहभागिता छ ।