काठमाडाैँ, १४ भदाै । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलन अाजबाट सुरु हुँदै छ । बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न पौने ४ बजे सम्मेलन उद्घाटन गर्नेछन् । बिमस्टेकको दुईदिने शिखर सम्मेलनले दक्षिण एसिया र दक्षिणपूर्वी एसियालाई जोड्न व्यापार, ऊर्जा, यातायातलगायत विषयमा क्षेत्रीय सम्झौता तथा प्रतिबद्धता जाहेर गर्ने भएको छ ।
बिमस्टेक राष्ट्रबीच स्थल र जलमार्गको कनेक्टिभिटीका लागि गुरुयोजना बनाउने काममा सम्मेलनले महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा छ । क्षेत्रीयस्तरमा प्रतिआतंकवादका साझा रणनीति पहिल्याई त्यसलाई कार्यान्वयन गर्नेबारे सातै देशका राष्ट्र/सरकार प्रमुखबीच छलफल हुने एजेन्डा छ ।
स्थापनाको दुई दशक पुगिसक्दा पनि बडापत्र तथा कानुनी दस्तावेजविहीन अवस्थामा चल्दै आएको बिमस्टेकलाई थप मजबुत बनाउने निर्णय सम्मेलनले गर्नेछ । त्यसअनुसार सम्मेलनले बडापत्र निर्माण र संयुक्त लगानी कोष स्थापना गर्न काठमाडौं घोषणापत्र जारी गर्नेछ ।
बिमस्टेक सचिवालयले भन्सारसम्बन्धी आपसी सहायता तथा सहकार्य गर्न सम्झौता गर्ने विषयमा समेत छलफल गर्नेछ । त्यस्तै सम्मेलनका क्रममा बिमस्टेक मोटरगाडी सम्झौता र बिमस्टेक तटवर्ती जल परिवहन सम्झौता गर्नेबारे छलफल हुनेछ ।
हिजाे सम्पन्न बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डा, हस्ताक्षर हुने समझदारीपत्र र जारी हुने काठमाडौं बडापत्रलाई अन्तिम रूप दिएको छ । बिम्स्टेकको १६ औँ मन्त्रिस्तरीय बैठकले सङ्गठनलाई प्रभावकारी, परिणाममुखी र सदस्य देशका नागरिकलाई अनुभूत हुने उपक्षेत्रीय सङ्गठनका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा हिजाे सम्पन्न उक्त बैठकले सङ्गठनका सहायताका क्षेत्रहरुको प्राथमिकता निर्धारण गर्दै तिनलाई समग्र बिम्स्टेक भेगको आर्थिक उन्नयनमा केन्द्रित गर्नुपर्नेमा मतैक्यता प्रकट गरेको छ ।