१ सय २८ मध्ये ७० मा काँग्रेस अगाडी : बालकृष्ण खाँण

१ सय २८ मध्ये ७० मा काँग्रेस अगाडी : बालकृष्ण खाँण

काठमाडौं । दोस्रो चरणमा निर्वाचन हुने १२८ स्थानमध्ये नेपाली कांग्रेसले ११८ स्थानमा उम्मेदवार उठाएको जानकारी दिदै निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले भन्नुभयो,“यीमध्ये ७० स्थानमा हामी अग्रस्थानमा छौ । उहाँले लोकतान्त्रिक गठबन्धनका लागि छोडिएको १० स्थानका अधिकांश ठाँउमा सहयोगी दलका उम्मेद्वारहरु विजयी हुने विश्वास व्यक्त गर्दै खाँडले आउने सरकार पनि नेपाली काँग्रेसको नेतृत्वमै बन्ने दावी गर्नु भयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा  तथा प्रदेश सभा निर्वाचन २०७४, केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नयाँ बानेश्वरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसका शीर्ष नेताहरु निर्वाचन प्रचारको राष्ट्रव्यापी अभियानमा जानुभएको, बामपन्थी गठबन्धनका कारण पार्टी एकजुट भएको र लोकतान्त्रिक गठबन्धनका बीचमा राम्रो समन्वय भएको कारण यो निर्वाचनमा नेपाली कांग्रेसको अवस्था निकै राम्रो भएको पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,“नेपालको जनमत परिवर्तनशील छ, स्थिर रहिरहदैन भन्ने कुराको प्रमाण पहिलो संविधानसभा र दोस्रो संविधानसभाको निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड उठ्नुभएको काठमाडौं–१० र एमालेका अध्यक्ष केपी ओली उठ्नुभएको झापाको अवस्थालाई हेरे पुग्छ । पहिलो चुनावमा भारी मतले जित्नुभएका प्रचण्ड त्यही क्षेत्रमा दोस्रो चुनावमा भारी मतले हार्नुभयो भने पहिलो चुनावमा हार्नुभएका एमाले अध्यक्ष ओली दोस्रो चुनावमा त्यही क्षेत्रमा भारी मतले विजयी बन्नुभयो ।”
कम्युनिष्ट गठबन्धनमा एमालेले ४० प्रतिशत सीट माओवादीलाई र अन्य केही सीट सानाबाम र स्वतन्त्रलाई दिएको हुनाले त्यसको लाभ नेपाली कांग्रेसलाई हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो,पार्टीको एजेण्डा र उम्मेदवारहरुको बीचमा तालमेल नमिलेर कम्युनिष्ट गठबन्धन सोचे जसरी र सही ढंगले परिचालन भएको छैन ।
उहाँले नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमानसिंहले २०४६ सालमा र गिरिजाप्रसाद कोइरालाले २०६२ मा कम्युनिष्टहरुलाई बहुदलीय संसदीय शासन व्यवस्था आउने विश्वास दिलाएकोले सहकार्य गर्नुभएको तर एमाले र माओवादीका बीचमा सहकार्य हुनासाथ पुन अधिनायकबाद तर्फ जाने उद्घोष गरेकोले कम्युनिष्टहरुको निष्ठामा समेत प्रश्न उठेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“ माओवादी अध्यक्ष प्रचण्डले २०६४ मा शक्तिखोरमा जे भाषा बोल्नुभएको थियो, त्यही भाषा बाम सहकार्यको घोषणाको समयमा बोल्नुभएको छ, उहाँहरु दुवैमा सुधार भएको देखिएन ।”
बहुलवादमा आधारित आवधिक निर्वाचन छोडेर एकदलीय निर्दलीय चरित्रको शासन नेपाली जनतालाई स्वीकार्य छैन नेता खाँडले भन्नु भयो ।”उहाँले ५ बर्षमा हुने आवधिक निर्वाचनको जनादेश लिएर ५० बर्ष शासन चलाउने कुराले संवैधानिक प्रावधान र बहुदलीय व्यवस्थाको रक्षार्थ उभिएको लोकतान्त्रिक गठबन्धनलाई बल पु¥याएको दावी गर्नुभयो ।
मधेशको ठूलो भूभागमा बस्ने नेपालीहरुले उठाएको समस्यालाई टुडिखेलमा उभिएर नेपालको समस्या नै हैन भनेर विखण्डनतर्फ उन्मुख गराउने एमाले राष्ट्रवादी शक्ति हुन नसक्ने बताउदै नेता खाँणले भन्नुभयो,“हामी सबै नेपालीको भावना समेटेर राष्ट्र बलियो हुन्छ भन्ने मान्यतामा छौ । हिमाल, पहाड र तराई कुनै पनि क्षेत्र विनाको मुलुक हामी कल्पनासम्म गर्न सक्दैनौ ।
उहाँले मधेशका मुद्दा राष्ट्रिय मुद्दा  भएको र यसलाई संबोधन नगर्दा मुलुक विखण्डन तिर जाने जोखिम बढ्ने बताउनुभयो ।
उहाँले राजनीतिक मुद्दाहरु संवादवाट समाधान गर्न सकिने भन्दै हाल निर्वाचनको विरुद्धमा देखिएका राजनीतक शक्तिहरुलाई पनि बार्तामा आउन आग्रह गर्नुभयो । “शान्ति, लोकतन्त्र, समृद्धि र राष्ट्रियतालाई असर गर्ने गतिविधि अबिलम्ब बन्द होस्” नेता खाँणले भन्नुभयो ।
नेता खाँणले देशभर देखा परेका विष्फोट र  हिंसाका घट्नामा विगत माओवादी द्वन्द्वकालमा लडाकू शिविरमा प्रशिक्षित जनशक्तिको संलग्नता पाइएको पनि उल्लेख गर्नुभयो ।
उहाँले निर्वाचनमा आम मतदातालाई सहभागी हुन र राष्ट्रिय मुद्दाहरुको बारमो स्वस्थ बहस चलाएर देशलाई शान्ति र समृद्धिको मार्गमा लैजान अभिप्रेरित गरेकोमा सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीहरुलाई पनि हार्दिक धन्यवाद दिनुभयो ।