

काठमाडौं, १४ भदौ । आज झण्डै तीनघण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण अवरुद्ध हुने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासकालागि बंगालका खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिन आउने विशिष्ट पाहुनाका कारण उडान र अवतरण अवरुद्ध हुने भएको हो ।
सम्मेलनमा भाग लिन आज भारत, बंगलादेश र थाइल्याण्डका राष्ट्रप्रमुख काठमाडौं आउँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुट चान ओ चा काठमाडौं आउन लाग्नुभएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार आज बिहान ८ बजेदेखि झण्डै ११ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र बाह्य कुनै पनि उडान हुने छैनन् । विमानस्थल कार्यालयले जनाएअनुसार विशिष्ट पाहुना आउनु १० मिनेट अघिदेखि आएको आधा घण्टासम्ममा अरु उडान रोकिनेछ ।
त्यसैगरी बिमस्टेककालागि नेपाल आउनुभएका सरकार प्रमुख सम्मेलन सकिएलगत्तै फर्किने भएकाले शुक्रबार बेलुका पनि उडान तथा अवतरण प्रभावित हुनेछ । बाँकी बिशिष्ट व्यक्तिहरु फर्किने दिन शनिबार बिहान पनि केहीबेर उडान र अवतरण प्रभावित हुने कार्यालयले जनाएको छ ।