

न्यूयोर्क, अमेरिका । जम्पालिङ तिब्बतीयन शरणार्थी क्याम्प स्थापनाको ५० बर्ष पुगेको अवसरमा नर्थ अमेरिका जाम्पालिङ एशोसियसनको आयोजनामा न्यूर्योकमा एक कार्यक्रम सम्पन्न भयो ।

सन् १९५९ मा चीनले तिब्बतलाई कब्जामा लिएपछि उत्पन्न परिस्थितिमा शरण खोज्दै नेपाल र भारतमा ठूलो संख्यामा तिब्बतीहरुको प्रवेश भएको थियो । यसरी शरण खोज्दै नेपाल आएका तिब्बतीलाई तत्कालिन नेपाल सरकारले तनहुँको शुक्ला गण्डकी, कास्कीको पोखरा, काठमाडौं लगायत देशका बिभिन्न बाह्र ठाउँमा शरणार्थी क्याम्पको स्थापना गरेर उनिहरुलाई बसोबासको व्यवस्था गरेको थियो । तिनै क्याम्पहरु मध्ये तनहुँको जम्पालिङ क्याम्प स्थापनाको ५० वर्ष पुगेको हो ।
उक्त कार्यक्रममा नेपाल र नेपालीलाई धन्यवाद दिइएको गीत ‘धन्यवाद नेपाल, धन्यवाद नेपाली’ को प्रोमो सार्वजनिक गरिएको थियो । उक्त गीत सोही क्याम्पमा नै जन्मेका हिसी वाङ्दीले सृजना गर्नु भएको हो ।
सोही कार्यक्रममा साहित्यकार मालिका केशरी र जम्पालिङ स्कूलका पूर्व शिक्षक आनन्द श्रेष्ठलाई सम्मान गरिएको थियो । मालिका केशरीको उपन्यास ‘दुङाल’ तिब्बती शरणार्थीको कथामा आधारित चर्चित उपन्यास हो । लेखक केशरीले दुङाल उपन्यास अँग्रेजी संस्करणमा चाँडै नै प्रकाशन हुन लागेको जानकारी गराउनुभयो ।

कार्यक्रममा बोल्दै नर्थ अमेरिका जाम्पालिङ एशोसियसनका अध्यक्ष टासी डोन्डुपले भन्नुभयो – ‘हामी र हाम्रा पुर्खा जीवन खोज्दै आयाैं । त्यो अप्ठ्यारो अवस्थामा नेपाल सरकार र नेपालीले त्यो समय बाँच्ने आधार प्रदान गर्यो त्यसलाई कहिल्यै भूल्न सकिदैन । हामी जहाँ भएपनि हाम्रो क्याम्प र नेपाललाई सदा माया गरिरहन्छौं ।’
लेखक केशरीले पुस्तक लेखन स्मरण गर्दै भन्नुभयो – ‘दुङाल तयार पार्दै गर्दा थाहा भयो करिब दुई दशकदेखि नेपाल सरकारले शरणार्थीलाई दिने शरणार्थी परिचय पत्र रोकेको छ । यात्रा अनुमति पत्र प्रदान नगरीदिँदा वा गरिहाले पनि अत्यन्त छोटो अवधिको यात्रा अनुमति पत्र प्रदान गर्नाले क्याम्पमा नै खुम्चेर बस्नु परेको अवस्था छ । साथै हालका दिनमा शरणार्थी क्याम्पमा जन्मिएका बच्चाहरुको जन्म दर्ता स्वरुप निस्सा प्रदान गर्दै आएकोमा सो कार्य पनि रोकिएको सुन्नमा आएको छ । त्यी बच्चाहरु देश बिहिन त छँदै थिए अझ कागजी परिचय बिहिन बनाइनु दुःखद् विषय हो । आफ्नो भूमिमा जन्मेका बच्चाहरुलाई बाँच्नको लागि चाहिने न्यूनतम आधार प्रदान गर्नु नेपाल सरकारको कर्तव्य पनि हो र यसबाट यो या त्यो कुनै पनि बहानामा सरकार पछि हट्न हुँदैन ।’
