गगनको गर्जनः स्वास्थ्य र शिक्षाको जिम्मा कांग्रेसले लिन्छ

गगनको गर्जनः स्वास्थ्य र शिक्षाको जिम्मा कांग्रेसले लिन्छ

काठमाडौं, १७ मंसिर । पूर्वस्वास्थ्यमन्त्री एवं आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं ४ कांग्रेसका उम्मेदवार गगनकुमार थापाले अब सम्पूर्ण नेपाली जनताको स्वास्थ्य र शिक्षाको जिम्मा नेपाली कांग्रेसले लिने बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नं ४ले आयोजना गरेको लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै थापाले शिक्षा र स्वास्थ्य जनताको आधारभूत आवश्यकता भएकाले यी दुई क्षेत्रको जिम्मा सरकारले लिने हो भने मुलुकका ८० प्रतिशतभन्दा बढी समस्या आफैँ समाधान भएर जाने बताए ।

आगामी निर्वाचनमा कांग्रेस विजयी भएको खण्डमा मात्रै सो कामले पूर्णता पाउने उनले बताए । ‘शिक्षा र स्वास्थ्यको जिम्मा आगामी कांग्रेस सरकारले लिन्छ र निजी क्षेत्रलाई प्रोत्साहन गर्दै देशमा रोजगारीका अवसरहरू सिर्जना गर्छ,’ गगनले भने, ‘लाखौँको संख्यामा रोजगारी सिर्जना भएपछि बिदेसिएका सबै केटाकेटी देशमा फर्किन्छन् र उनीहरूले विदेशमा सिकेको सीप आफ्नै देशमा प्रयोग गर्न पाउँछन् ।

देशलाई विकास र समृद्धिको दिशामा अघि लैजानका लागि अहिले स्वर्णिम अवसर रहेको बताउँदै उनले भने, ‘अबको १५ वर्षभित्र मुलुकको विकास गर्न सकिएन भने हामी सधैँ पछाडिको पछाडि पर्नेछौँ ।’ त्यसका लागि देशमा दिगो र स्थायी लोकतान्त्रिक सरकारको आवश्यकतामा उनले जोड दिए ।

संयुक्त सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर जबराले आफूले पहिलेदेखि नै बृहत् प्रजातान्त्रिक एकताको आवश्यकता औँल्याएको र समयक्रमले त्यसले सार्थकता पाएकोमा खुसी व्यक्त गरे । त्यसैगरी, राप्रका महामन्त्री भुवन पाठकले लोकतन्त्रमाथिअक्रिमणको खतरा देखेर नै लोकतान्त्रिक पार्टीहरूको गठबन्धन निर्माण भएको बताए । राणा र पाठक दुवैले सो क्षेत्रमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन आह्वान गरे ।

लोकतान्त्रिक गठबन्धनका तर्फबाट सो क्षेत्रमा पर्ने दुवै प्रदेशका उम्मेदवारले पनि कार्यक्रममा मन्तव्य दिएका थिए । काठमाडौं क्षेत्र नं ४मा केन्द्र तथा प्रदेशका सबै उमेदवार लेकतान्त्रिक गठबन्धनबाट कांग्रेसले नै पाएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार प्रा. पुरुषोत्तम दाहाल, डा. केदारनरसिंह केसीलगायतका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो ।