तिलोत्तमा नगर स्तरीय शिक्षक कर्मचारी भलिवल प्रतियोगिता शुरु

तिलोत्तमा नगर स्तरीय शिक्षक कर्मचारी भलिवल प्रतियोगिता शुरु

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको आयोजनामा शुक्रबारबाट नगरस्तरीय शिक्षक कर्मचारी भलिवल प्रतियोगिता शुरु भएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुबीच आयोजित प्रतियोगितामा १६ समुहको सहभागिता रहेको छ ।

शुक्रबार भएकोे खेलबाट शान्ति नमुना मा.वि. र गीर्वाण मा.वि.सेमिफानलमा प्रवेश गरेका छन् । शान्ति नमुना मा.वि.ले जनता मा.वि. मोहनाजोतलाई २–० को सेटमा र गीर्वाण मा.वि.ले शंकरनगर दुर्गादत्त मा.वि.लाई २–० सेटमा हराँउदै सेमिफानलको यात्रा तय गरेका हुन् ।

यस्तै सेमराबजार मा.वि., जनज्योती मा.वि.,जनहित मा.वि. र जन भावना मा.वि. क्वाटर फाइनलमा प्रवेश गरेका छन् । शान्ति नमुना माध्यमिक विद्यालयको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले खेलले स्वास्थ्य राम्रो बनाउने मात्र नभई व्यक्तिलाई अनुशासित र मेहनती बनाउन पनि मद्धत गर्ने भएकोले नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको बताए ।

शान्ति नमुना माध्यमिक विद्यालयका अध्यक्ष शरद भट्टराईको अध्यक्षता तथा प्रधानाध्यापक कुलप्रसाद लामिछानेको स्वागतमा भएको उद्घाटन कार्यक्रममा तिलोत्तमाका उपप्रमुख जगेश्वरीदेवी चौधरी, वडा नं ५ का अध्यक्ष रमेश डुम्रे, शिक्षा शाखा प्रमुख गंगाराम आचार्य, नेपाल पौडी संघका केन्द्रीय वरिष्ट उपाध्यक्ष जयप्रकाश भट्टराई, तिलोत्तमा खेलकुद समितिका अध्यक्ष लोक पुन, विद्यालयका सल्लाहकारहरु लक्ष्मण खनाल, टेक बहादुर थापा, अर्जुनराज उपाध्याय लगायतले खेलाडीहरुलाई शुभकामना दिएका थिए ।

प्रतियोगिताको विजेता विद्यालयले नगद १९ हजार ९ सय ९९ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने विद्यालयले १५ हजार ५ सय ५५ रुपैया, तृतीय हुने विद्यालयले ११ हजार १ सय ११ रुपैया र चौथो हुने विद्यालयले ७ हजार ७ सय ७७ रुपैया नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।