आज देशका उच्च भेगमा हिमपात, तराईमा हुस्सु लाग्ने

आज देशका उच्च भेगमा हिमपात, तराईमा हुस्सु लाग्ने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु-कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

बिहीबार पनि कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै आज काठमाडौंको न्यूनतम तापक्रम घटेको छ। महाशाखाका अनुसार बुधबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस मापन भएको छ। मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको थियो। मंगलबारको तुलनामा काठमाडौंको आकाश केही खुला भएकाले न्यूनतम तापक्रम केही घटेको महाशाखाले जनाएको छ।

बिहानको समयमा काठमाडौंमा सामान्य हुस्सु र कुहिरो लाग्ने तथा दिउँसो मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ। आज काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान गरिएको छ।