काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन २०८७ सालमा हुने बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा उनले भने, ‘अहिले राष्ट्रिय सभामा एमालेको बहुमत छैन । २०८७ सालमा एमालेको बहुमत पुग्छ अनि त्यतिबेला संविधान संशोधन गर्नेछौं ।’
ओलीले पार्टीमा गुट नभएको दाबी गरेका छन् । उनले आफ्ना विषयवस्तु पार्टीका बैठकमा राख्न आग्रह पनि गरेका छन् । सडकबाट जनमत बनाउने कुरा गलत भएको ओलीको भनाइ छ ।
“विचारधारात्मक, संगठनात्मक गुट पार्टीमा छैन । विचार, सिद्धान्त, बाटो, नीतिमा हाम्रो कुनै मतभिन्नता छैन । आफ्ना विषयवस्तु राख्न मन छ भने पार्टीका बैठकमा राख्नुस् । यहाँ राख्न खुलस्त हुनुहुन्छ, सुनिन्छ । तर, पार्टीका विषय सडकमा राखेर जनमत बनाउँछु भन्ने कुरा ठिक भएन,” अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।बैठकले आफ्ना निम्ति स्वार्थ समूह बनाएर केही लागे पनि पार्टीमा गुट नभएको निष्कर्ष निकालेको छ ।