काठमाडौँ, १३ भदाै । यसपालीको दशैंमा मेलम्चीको पानी पिउने काठमाडौँबासीको सपना अहिले पनि हावाले उडाएर लाने भएको छ । खानेपानी मन्त्रीदेखि सरोकारवाला सचिवसम्मले दशैँमै पानी आउँछ भनेर पटक पटक भनिरहे पनि अझै थुप्रै काम बाँकी रहेकाले यो चाहना पूरा नहुने मजदूरहरूले बताएका छन् ।
सुरुङ गत चैतमै छिचोलिए पनि त्यहाँ फिनिसिङको काम बाँकी नै छ । सुरुङमा अहिले ढलानको काम भैरहेको छ । २७ किम सुरुङमध्ये अहिलेसम्म १० किमि मात्रै ढलान भएको छ । अहिले दैनिक ५०/६० मिटरको दरले सुरुङ ढलान भइरहेको छ । याे खबर अाजकाे नेपाल समाचार पत्र दैनिकबाट लिएका हाैँ ।
यही गतिमा सुरुङ ढलान हुँदा पनि सबै काम सकिन अझै साँढे पाँच महिना लाग्ने प्राविधिकहरूको भनाइ छ । एकजना प्राविधिक भन्छन्–‘यो दशैंमै मेलम्चीको पानी सुन्दरीजलसम्म ल्याउन अहिलेको कामको गतिलाई दोब्बर बढाउनुपर्छ । त्यस्तै दैनिक २ सय ८५ मिटरको दरले सुरुङमा ढलान हुनुपर्दछ ।’
अहिले सुन्दरीजल, अम्बाथान, सिन्धु र ग्याल्थुम खण्डमा २/२ खण्ड गरी काम भएको र अम्बाथान र सिन्धुमा १/१ खण्डबाट सुरु गरिएको ढलानको काम सम्पन्न हुन लागेको मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।