

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारका कुन-कुन फाइल खोल्ने भनेर छलफल गर्न आवश्यक रहेको बताएका छन् । सरकारमा रहँदा मौन रहने र सरकारबाट बाहिर रहेपछि भ्रष्टाचारको फाइल खोल्ने भन्नेमा शीर्ष नेताहरू समेत देखिएकाले छलफल शीर्ष तहमै हुनुपर्ने आफूलाई लागेको उनले बताए ।
‘हामीले एक अर्कालाई खुइल्याउने पर्यो भने भ्रष्टचारको विषय आउने भयो। त्यसैले यो विधेयक ल्याउनु पर्यो । अहिले त हामी अख्तियारको कानुन बनाउँदै छौं । जति पनि विषय छन्। नागरिकको तहमा सबै जना मानिस भ्रष्टचारमा लिप्त भएको भन्ने भयो। अख्तियारलाई केही विषयमा थप अधिकार दिने हो भने दिउँ’, उनले भने ।
राज्य व्यवस्था समितिको बैठकमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित छन् । अर्का पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा कानुन न्याय तथा मानव अधिकार समितिमा उपस्थित छन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत उपस्थित गराउने र राज्य व्यवस्था समितिमा भ्रष्टाचारको फाइल खोल्नेबारे छलफल गर्नुपर्ने बताएका हुन ।
‘बनाउने भए शक्तिशाली आयोग बनाऔं । सबैको सम्पत्ति छानबिन गरौं । हामी सबैको गरौं । बाहिर यो वा त्यो भ्रष्टाचारको फाइल खोल्नुपर्छ नभनिरहौं’, महामन्त्री थापाले भने । उनले निर्दोष पर्नु नहुने र दोषी छुट्न नहुने पनि बताए ।