प्रधानमन्त्री ओली भए पनि नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ : सिटौला

प्रधानमन्त्री ओली भए पनि नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए पनि नीतिगत नेतृत्व भने कांग्रेसले गरिरहेको बताएका छन् । एमालेसँग मिलेर सरकार बनाउँदै ओली प्रधानमन्त्री बने पनि नीतिगत नेतृत्व भने कांग्रेसले नै गरिरहेको सिटौलाको भनाइ छ ।

‘अहिले कांग्रेस र एमालेको संयुक्त सरकार छ, प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ । तथापि नीतिगत नेतृत्व कांग्रेसले गरिरहेको छ,’ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा मंगलबार काठमाडौंको क्षेत्रपाटीमा भएको कार्यक्रममा सिटौलाले भने । सिटौलाका अनुसार राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्री ओलीले गरे पनि नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व कांग्रेसले नै गरेको छ ।

‘जनताका तमाम समस्यालाई समाधान गरेर बलियो नेपाल निर्माण गर्नुछ । गरिब जनताको आर्थिक प्रगति गर्नुछ। पछाडि परेका जनतालाई अगाडि ल्याउनुछ। दलित, महिला, पिछडिएका क्षेत्रका तमाम समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली कांग्रेस पार्टीले नै देशलाई डोहोर्‍याउनुछ,’ सिटौलाले भने ।