‘बिमस्टेक’ वरिष्ठ अधिकारीहरुको बैठक सूरु, पाहुना आउनेक्रम जारी

‘बिमस्टेक’ वरिष्ठ अधिकारीहरुको बैठक सूरु, पाहुना आउनेक्रम जारी

काठमाडाैँ, १२ भदाै  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को वरिष्ठ अधिकारी (सचिवस्तरीय) को १९औं बैठक आज काठमाडौंमा बस्दैछ ।

बिमस्टेक शिखर सम्मेलनअघि सचिव र मन्त्रीस्तरीय छुट्टाछुट्टै बैठक बस्ने प्रावधानअनुसार आज बैठक बस्न लागेको हो । कहीबेरपछि होटल सोल्टीमा सुरु हुने आजको बैठकमा विभिन्न आठ ओटा अजेण्डाको विषयमा छलफल हुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा सहभागी हुन भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका विदेशसचिवहरु हिजो नै काठमाडौं आइपुगिसक्नुभएको छ ।

बैठकमा अध्यक्षता परराष्ट्र सचिव शंकर दास वैरागीले गर्नुहुनेछ । बिमस्टेकका महासचिव शहिदुल इस्लामले बैठकमा विशेष सम्बोधन गर्नुहुनेछ । त्यसपछि बैठकमा अजेन्डामाथि केन्द्रित भएर छलफल गरिनेछ । बैठकमा व्यापार तथा लगानी, यातायात तथा सञ्चार, प्रविधि, अन्तरदेशीय अपराध तथा प्रतिआतंकवाद, कृषि, गरिबी निवारण, जनस्वास्थ्यलगायतका मुद्दालाई प्रमुख अजेन्डा बनाइएको छ ।

बैठकमा भन्सारसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि छलफल हुने बताइएको छ । यस्तै बिमस्टेक यातायात कनेक्टिभिटी कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुनेछ । बिमस्टेक मोटर भेइकल एग्रिमेन्ट र बिमस्टेक कोस्टल सिपिङ एग्रिमेन्टमा पनि छलफल हुने जनाइएको छ ।

म्यानमारका राष्ट्रपति आज आउँदै
बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट आज नेपाल आउँदै हुनुहुन्छ । नेपाल आएकै दिन नेपाल र म्यानमारबीच द्विपक्षीय बैठक हुनेछ । बैठकमा दुवै देशका प्रधानमन्त्री सहभागी हुनुहुनेछ ।

शिखर सम्मेलनमा सहभागी हुन भोली श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, भुटानको काम चलाउ सरकारका प्रमुख छिरिङ वाङचुक र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत काठमाडौं आइपुग्नुहुनेछ ।

यस्तै भदौ १४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आउँनुहुनेछ ।

त्यसैगरी बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरु आज काठमाडौं आउँदैहुनुहुन्छ । बिमस्टेक शिखर सम्मेलनअघि हुने विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सदस्य राष्ट्रका विदेशमन्त्री तथा विदेश राज्यमन्त्री आज काठमाडौं आउन लाग्नुभएको हो ।

भोली काठमाडौंमा बिमस्टेकका विदेशमन्त्रीहरुको १६औं बैठक बस्दैछ । बैठकले हस्ताक्षरका लागि तयार पारिएका समझदारी तथा सम्झौतापत्र र काठमाडौं घोषणापत्रलाई अन्तिम रुप दिनेछ ।

१७ हजार सुरक्षाकर्मी परिचालन
बिमस्टेक सम्मेलनको सुरक्षा कमान्ड नेपाली सेनाले गर्ने भएको छ । सरकारले सेनाको कमान्डमा सम्मेलन सुरक्षाका लागि सम्पूर्ण सुरक्षा संयन्त्र प्रयोग गर्ने योजना बनाएको हो ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा एकीकृत सुरक्षा योजना बनाएको सरकारले सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई परिचालन गर्नेछ ।

सेनाकै सुरक्षा योजनाअनुसार अन्य सुरक्षा एजेन्सी परिचालित हुनेछन् । सबै सुरक्षा निकायका करिब १७ हजार सुरक्षाकर्मी खटिनेछन् । संयोजक सुवेदीले सुरक्षा योजना पारित भएर लागू पनि भइसकेको बताउनुभयो ।

गृहका अनुसार बिमस्टेक सम्मेलनमा तीन सुरक्षा घेरा हुनेछ । सबैभन्दा भित्री घेरामा नेपाली सेना खटिनेछ । दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रोमा सशस्त्र प्रहरीको सुरक्षा हुनेछ । राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर सिभिलमा तीनवटै घेरामा छरिएर रहन्छन् ।

सेना, प्रहरी र सशस्त्रका ‘इन्टेलिजेन्स’ टोली पनि सादा पोसाकमा खटिनेछन् । यसबाहेक भिभिआइपीले आफूसँगै ल्याउने सुरक्षाकर्मी पनि खटिनेछन् । उनीहरू हतियारसहित हुनेछन् । तर, नेपाली सुरक्षाकर्मीकै योजनाअनुसार परिचालित हुन्छन् ।

सेनाको हवाई गस्ती
सम्मेलन अवधिभर सम्मेलनस्थल तथा भिभिआइपी आवागमन क्षेत्रमा सेनाले हवाई गस्ती गर्नेछ । सैनिक प्रवक्ता गोकुल भण्डारीका अनुसार ‘बिमस्टेक सम्मेलन अवधिभर हवाई प्याट्रोलिङ हुनेछ । विशेषगरी सम्मेलनस्थल तथा भिभिआइपी आवागमन गर्ने क्षेत्रमा हवाई गस्ती हुने उहाले बताउनुभयो ।

आजदेखि शनिबारसम्म हवाई उडान प्रभावित
बिमस्टेकको चौथो सम्मेलनका लागि आजबाटै अतिविशिष्ट पाहुना नेपाल आउनेक्रम सुरु भएको छ । जसले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल आजदेखि शनिबारसम्म प्रभावित हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हरेक राष्ट्रप्रमुख या सरकारप्रमुखको आवागमनका समयमा कम्तीमा आधा घन्टा विमानस्थल बन्द हुनेछ ।

खुलामञ्चमा चारदिन पार्किङ निषेध
खुलामञ्चमा चारदिनसम्म गाडी पार्किङ गर्न नपाइने भएको छ । खुलामञ्चमा रहेको बसपार्क मर्मत गर्नका लागि चारदिन पार्किङ गर्न रोक लगाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

खुलामञ्चमा पार्किङ गरेर छुट्ने सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायत जिल्लाका गाडीलाई अब नयाँ बसपार्कबाट छुट्ने व्यवस्था मिलाइएको छ । यस्तै खुलामञ्चबाट छुट्ने काठमाडौं उपत्यकाका गाडीलाई भने पार्किङ नगरी गाडी घुमाएर यात्रु चढाउने र झार्ने व्यवास्था मिलाइएको छ ।