काठमाडौं । आजबाट पोखरामा अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल हुने भएको छ। नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल हुन लागेको हो। बेलुन नेपाल प्रालिको आयोजनामा पोखराको पामे फाँटमा हुन लागेको फेस्टिभलमा नेपालसहित २० देशका व्यावसायिक बेलुन कम्पनीको सहभागिता रहनेछ। क्रिसमस र अंग्रेजी नयाँ वर्षको अवसर पारेर हुन लागेको फेस्टिभल सन् २०२५ को पहिलो दिन १ जनवरीसम्म चल्ने फेस्टिभलका इन्टरनेसनल संयोजक रोबर्ट विकले जानकारी दिए।
महोत्सव पामे क्षेत्रको लौरुकदेखि चङ्खपुरसम्म तीन किलोमिटर क्षेत्रमा आयोजना हुनेछ फेस्टिभलमा अमेरिका, स्पेन, लिथुनिया, थाइल्याण्ड, भियतनाम लगायत मुलुकमा कम्पनीले भाग लिने आयोजक कम्पनीका प्रबन्ध निर्देशक एवं फेस्टिभल संयोजक सविन महर्जनले बताए।
फेस्टिभलमा हरेक दिन सांगीतिक कार्यक्रम, फुड स्टल, मेला र खेल समेत हुनेछन्। फेस्टिभलमा राष्ट्रिय कलाकारहरु दीपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ब्यान्ड लगायत पोखराका स्थानीय ब्यान्डले सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ।