काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल खेल हुँदैछ । फाइनलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स उपाधिका लागि भिड्दै छन् । सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टीयु क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले जनकपुरविरुद्ध ब्याटिङ गर्दैछ ।
सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र जनकपुरको कप्तानी आशिफ शेखले सम्हाल्ने छन् । यसअघिको दुई भेटमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गरेको थियो । पहिलो संस्करणको विजेता टोलीले ट्रफीसहित १ करोड १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले ५१ लाख प्राप्त गर्नेछ । आज उपाधिका लागि भइरहेको खेल हेर्न त्रिवि मैदान दर्शकले भरिभराउ भएको छ । फाइनल खेलका लागि हिजो नै सबै टिकट सोल्ड आउट भएका थिए ।