

काठमाडौं । एसीसी यु–१९ महिला एसिया कपअन्तर्गत सुपर फोरको पहिलो खेलमा नेपालले श्रीलंकासँग अंक बाँडेको छ । क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहीबार भएको खेल वर्षाको कारण रद्द भएसँगै नेपालले श्रीलंकासँग समान एक एक अंक बाँडेको हो । टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले एक ओभरमा एक विकेट गुमाउँदै एक रन मात्रै बनाएको थियो । नेपालले श्रीलङ्काविरुद्ध टस जितेर फिल्डिङ थालेको थियो ।
पहिलो ओभर सकिएलगत्तै वर्षा सुरु भएपछि खेल रोकिएको हो । नेपालकी कप्तान पूजा महतोले हिरुनी हंशिकालाई शून्य रनमा अलिसाकुमारी यादवबाट क्याच आउट गराएकी थिइन् । नेपालले समूह ए को उपविजेता बन्दै सुपर फोरमा स्थान बनाएको थियो । सुपर फोरको अन्तिम खेलमा नेपालले शुक्रबार बंगलादेशको सामना गर्नेछ । एसिया कपको फाइनल पुग्न नेपालले भोलिको खेल जित्नैपर्ने दबाब हुनेछ ।