काठमाडौं । संघीय संसद्का लेखा सभापति ऋषिकेश पोखरेल पत्नीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा नाम जोडिएकी पोखरेल पत्नी अन्जला कोइरालासहित २६ जनाविरूद्ध मंगलबार मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो।
‘अन्जला कोइरालासहित २६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको हो,’ अदालतका सूचना अधिकारी हमबहादुर बुढाथोकीले भने, ‘मंसिर २७ मा अभियोगपत्र दायर भएको थियो। सोही अनुसार पक्राउ पुर्जी जारी भएको हो।’
इलाका प्रहरी कार्यालय रंगेलीले यो विषयमा अनुसन्धान गरी प्रतिवेदन बुझाएको थियो। सोही आधारमा सरकारी वकिलको कार्यालय मोरङले पोखरेल पत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड बिगोसहित मुद्दा दर्ता गरेको थियो।