एसिसी यु १९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर ४ मा

एसिसी यु १९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर ४ मा

काठमाडौं । एसिसी यु १९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर ४ मा पुगेको छ । नेपाल र भारत यु १९ बीचको खेल वर्षाका कारण स्थगित भएपछि नेपाल अपराजित रुपमा सुपर ४ मा पुगेको हो ।

नेपालले दिएको ९५ रनका लक्ष्य पछ्याउने क्रममा भारी वर्षा भए पछि खेल रद्द भएको हो । वर्षा नरोकिएपछि नेपाल र भारतले एक-एक अंक बाडेका छन् । योसँगै नेपाल ३ अंकसहित अपराजित रहदै सेमिफाइनलमा पुगेको हो । भारत पनि समान ३ अंकसहित अपराजित रहदै सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको थियो ।

मलेसियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रनको सामान्य योगफल तयार गर्यो । नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक २५ रन जोडिन् । उनले ४० बलमा ३ चौका प्रहार गरेकी थिईन् । अलिसा कुमारी यादवले ९ बलमा ४ चौकाको सहयोगमा ९ रनमा नट आउट रहिन् ।

ओपनर साना प्रविन ९, उपकप्तान सोनी पाख्रिन ८ तथा ज्योत्सिका मरासिनी ६ रनमा आउट भईन् । भारतका लागि पुरोनीका सिसोदीले ४ ओभरमा १२ रन खर्चिएर ४ विकेट लिईन् । आनन्दिता किशोरीले १ विकेट लिईन् । नेपालले पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरिसकेको छ । सोमवार भएको खेलमा पाकिस्तानलाई नेपाल ६ विकेटले पराजित गरेको हो ।

भारतले पनि पाकिस्तानलाई हराएसँगै सुपर ४ मा स्थान पक्का गरिसकेको छ । अब नेपालले सुपर ४ मा श्रीलंका, बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् ।