केटा र केटीबीच विवाह कसरी जुराइन्छ ?

केटा र केटीबीच विवाह कसरी जुराइन्छ ?

ज्योतिष शास्त्रमा बिभिन्न कुराहरुको शुभ–अशुभ वर्णन गरिएको छ । हिन्दु धर्मशास्त्रहरुका अनुसार कुनै पनि केटा र केटीको विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ कि हुँदैन भन्ने कुरा विवाह गर्नु भन्दा अघि नै विचार गर्नुपर्छ । यस कुराको विचार ज्योतिष गणनाको आधारमा हुने गर्छ । केटा वा केटीको विवाह जुर्छ जुर्दैन थाहा पाउने कसरी ?

प्रायः कुनै पनि केटा र केटीका बीच विवाह जुर्छ कि जुर्दैन भनेर तिनीहरूकाे गुण हेर्ने गरिन्छ । यसरी गुण मिलाउनको लागि विशेष गरेर निम्न अाठ कुराको विचार गरिन्छ – १) वर्ण, २) वश्य, ३) तारा, ४) योनी, ५) ग्रह मैत्री, ६) गण, ७) भकुट र ८) नाडी

यी मध्ये प्रत्येकमा निश्चित गुणसंख्याहरु रहन्छन् । यसरी यी अाठवटा कुराको गुण संख्या मिलाउँदा जम्मा ३६ गुण हुन्छ । यसकारण ज्योतिष शास्त्र अनुसार हरेक मानिसमा ३६ गुण हुन्छ । यही गुणको आधारमा उसका स्वभावहरु पनि हुने गर्दछन् । विवाह जुर्छ कि जुर्दैन भन्ने कुराको विचार गर्दा केटा र केटीको यही ३६÷३६ गुणमा कति गुण मिल्छ हिसाब गरिन्छ । यसमा ३६ गुण मात्र विचार गर्ने भएकाले कहिले पनि विवाह जुराउँदा ३६ भन्दा बढी गुण आउँदैन ।

ज्योतिष शास्त्रमा केटा र केटीको कुण्डली विचार गर्दा कम्तिमा पनि ५० प्रतिशत (१८) गुण मिल्नैपर्छ । गुण मिलानमा अठार भन्दा कम गुण आएमा विवाह जुर्दैन । १८ देखि २० गुण सम्म अाएमा मध्यम मानिन्छ । २१ देखि ३० गुण सम्म गुण आएर विवाह भएमा यसलाई उत्तम सम्बन्ध हुने मानिन्छ । त्यसैगरी ३० देखि माथि ३६ सम्म गुण आएमा सम्बन्ध अति राम्रो हुने ज्योतिष शास्त्रको मान्यता रहेको छ ।
यसरी कुण्डली जुराउँदा एउटाको राशिदेखि अर्कोको राशि छैटौँ वा आठौमा पर्नु चाहिँ राम्रो मानिँदैन । यसलाई षडाष्टक दोष भनिन्छ । एउटाको राशिदेखि अर्कोको राशि एकआपसमा दोश्रो र बाह्रौँमा पर्नुलाई पनि अशुभ मानिन्छ । यसलाई द्विद्वादश दोष भनिन्छ भने, एक अर्काको राशि पाचौँ वा नवौँमा पर्नुलाई पनि खासै राम्रो मानिँदैन । यसलाई नवम पञ्चक दोष भनिन्छ । यदि विवाह जुराउँदा षडाष्टक, द्वि–द्वादश र नवम पञ्चक दोष नभएमा १६ गुण भन्दा माथि आए पनि विवाह गर्नु शुभ मानिन्छ ।

विवाह जुराउँदा यी ८ कुराको विचार गरेर गुण अर्थात् स्वभाव मिल्छ कि मिल्दैन भनेर जानकारी लिनु पर्ने हुन्छ । यदि गुण राम्रो मिल्दैन भने विवाह पछि सम्बन्ध पनि राम्रो हुन्छ भन्न सकिंदैन भन्ने ज्योतिष शास्त्रको मान्यता रहेको छ । मांगलिक योग हुँदैमा डराउनु भने पर्दैन । किनकी यो संसारमा लगभग ४० प्रतिशन मानिस मांगलिक हुने गर्दछन् । मांगलिक योगले सम्बन्धमा समस्या ल्याउने भएपनि यसले व्यवसायिक रुपमा भने मानिसलाई निकै सफलता दिने मानिन्छ ।

-याे सामाग्री jyotishbidhya.com बाट लिएका हाैँ ।