काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्न माथिको अनुसन्धान प्रभावित हुने काम कसैले पनि गर्न नहुने बताएका छन्।
नेपाल प्रेस युनियन नवलपुरले शनिबार कावासोतीमा आयाेजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले लोकतन्त्रमा भीडले न्याय नदिने भन्दै न्यायिक प्रक्रियाबाट नै हरेक गतिविधिको छिनोफानो हुने बताए। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मानवअधिकार उल्लंघनको कुनै पनि व्यवहार नभएको भन्दै अदालतको आदेशअनुसार नै अनुसन्धान भइरहेको उनले बताए।
जनताले दु:ख गरेर जम्मा गरेको करोडौं रकम हिनामिना गर्नेमाथि अनुसन्धान हुँदा भीड जम्मा गर्ने, अदालत तथा न्यायिक निकाय घेराउ गर्ने जस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ। मुलुकमा दिगो विकास, शान्ति, सुशासन तथा समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताए।
‘स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन, सुशासन कायम भएन, विकास निर्माणका काम पनि द्रूत गतिमा अघि बढ्न नसकेपछि वर्तमान गठबन्धन सरकार गठन भएको हो,’ उनले भने।