काठमाडौं । हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा मनाउने संयुक्त राष्ट्रसंघको घोषणालाई काठमाडौँस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले स्वागत गरेका छन्। लिकटन्सटाइन प्रस्तावक, भारत सहप्रस्तावक र नेपाल, श्रीलंका, मेक्सिको लगायतका मुलुकहरू समर्थक रहेको उक्त प्रस्तावलाई संयुक्त राष्ट्र संघ साधारण सभाले गत डिसेम्बर ७ मा सर्वसम्मतिले अनुमोदन गरेको थियो।
यो दिन ध्यानका परिवर्तनकारी फाइदाहरूलाई उजागर गर्न र शारीरिक, मानसिक, तथा आध्यात्मिक कल्याणका लागि यसको अभ्यासलाई प्रोत्साहन दिन समर्पित छ। ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले विश्व ध्यान दिवस मनाउन सक्रिय अभियान चलाएका थिए। उनले वर्षौंदेखि ध्यानको महत्वबारे लेख लेख्दै र प्रवचनहरू दिंदै विश्व ध्यान दिवस मनाउनका लागि आह्वान गर्दै आएका थिए।
२०१९ फेब्रुअरी १८ मा स्वामी अरुणले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाल स्थायी मिसनमा यो प्रस्ताव प्रस्तुत गरे। मिसनका कार्यवाहक प्रमुख निर्मल राज काफ्लेले यो प्रस्तावलाई संयुक्त राष्ट्रसंघमा लैजाने सकारात्मक आश्वासन दिएका थिए।
२०२३ को अक्टोबरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको लुम्बिनी भ्रमणका क्रममा यस प्रस्तावले थप गति प्राप्त गर्यो। तत्कालिन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले महासचिव समक्ष यो पहल औपचारिक रूपमा प्रस्तुत गरेका थिए। महासचिवले यस विचारको प्रशंसा गर्दै समर्थन जनाएका थिए।
“हिमाल, नदी र पहाडहरूको सुन्दर भूमि नेपालले लामो समयदेखि आन्तरिक खोज र आध्यात्मिक परिवर्तनका लागि गन्तव्यका रूपमा ख्याति पाएको छ। डिसेम्बर २१ लाई अन्तर्राष्ट्रिय ध्यान दिवसको रूपमा संयुक्त राष्ट्रसंघले मान्यता दिएको देख्दा अत्यन्त हर्षित छु। यस ऐतिहासिक उपलब्धिमा नेपालको नेतृत्व देख्दा गर्व महसुस गर्दछु,” स्वामी अरुणले भने।
अब यो दिन विश्वभर ध्यानका कार्यक्रम, कार्यशाला र अभ्यासहरूद्वारा मनाइनेछ, जसले आन्तरिक शान्ति र विश्वव्यापी एकताको प्रवर्द्धन गर्ने अपेक्षा रखिएको छ । राष्ट्र संघले अहिले संसारभरि झन्डै २० देखि ५० करोड मानिसहरुले नियमित रुपमा ध्यान गर्ने गरेको जनाएको छ। यस अघि भारत सरकारको प्रस्तावमा संयुक्त राष्ट्र संघले २१ जुनलाई विश्व योग दिवस घोषणा गरेको थियो।