काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अभद्र व्यवहार नभएको बताएका छन् । चितवन प्रहरीले लामिछानेमाथि अभद्र व्यवहार गरेको भन्दै रास्वपाले विरोध जनाइरहेका बेला गृहमन्त्री लेखकले त्यसको खण्डन गरेका हुन् । उनले लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको बताएका छन् । मंगलबार सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लेखकले लामिछानेमाथि प्रहरीबाट अभद्र व्यवहार भएको भन्ने हल्ला गलत भएको बताए ।
उनले भने, ‘सहकारी रकमका विषयमा रवि लामिछानेमाथि मात्र अनुसन्धान भएको होइन, अरु पनि यसमा तानिएका छन् । अनुसन्धान हुँदै गर्दा अदालत घेर्ने काम भएको छ, यस्ता विधिको शासन उल्लंघन गर्ने काममा प्रमुख प्रतिपक्षी दलले नै सहयोग गरेको छ।’
रास्वपाले मध्यरातमा प्रहरीले जवर्जसती लामिछानेलाई चितवनबाट पोखरा लगेको भन्दै मानव अधिकार आयोगमा उजुरी नै हालेको छ भने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सामाजिक सञ्जालमा विरोध जनाएका थिए ।