मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामान्यतया राम्रै समय देखिन्छ, तर साताको मध्यभागमा आर्थिक पक्ष कमजोर बन्नेछ । सुरुमा विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । मेजमानी र सम्मानको अवसर आउने छ, मेवा मिष्टान्न परिकार मिल्नेछ । प्रेमिल भावनाको उदय हुनेछ, घुमघाम र भेटघाटमा समय बित्नसक्छ । सन्तति पक्षबाट सन्तोष हुनेछ, राज्यपक्षबाट समेत सम्मानित हुने अवसर पाइने छ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा राम्रो छ । तर मङ्गलवार र बुधवार दौडधूप र हस्याङफस्याङमा समय बिताउनु पर्नेछ, सुखी जीवन व्यतीत गर्न मन लालायित हुनेछ, यद्यपि घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । भोगविलास वा विलासिताका नाममा खर्च बढ्न सक्छ । हाकिम वा अभिभावकसँग मनोमालिन्य बढ्ने सम्भावना हुन्छ । साताको अन्त्यमा राशिमा चन्द्रमा आउने हुँदा शुभफल नै प्राप्त हुने छ, तर यो साता संयम र धैर्य हुनु राम्रो हो । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गरेमा साता सजिलै बित्ने देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कर्मशील समय छ । नयाँ रोजगारी वा व्यवसायका निमित्त अनुकूल समय छ । घरपरिवारका सारा समस्या हल गर्ने उपाय पत्ता लाग्नेछ । मातापिताको आशीर्वाद र सहानुभूति प्राप्त हुने छ । काम वा व्यवसायका सिलसिलामा कतै लामो दूरीको यात्रामा निस्कने योजना बनाउनु भएको छ भने राम्रो हुन्छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । साताको मध्यभाग मनोरञ्जक समय रहने छ, भेटघाट र मनोरञ्जनमा अलमलिंदा गर्नै पर्ने काममा बिलम्ब हुनसक्छ । भाइबहिनी वा छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । तर साताको अन्त्यमा बाह्रौं भावमा चन्द्रमा रहने भएकाले खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ, सचेत हुनुपर्छ । प्रशासनिक झैझमेला वा सामाजिक आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा समेत तिक्तता आउने योग छ । खासगरी शुक्रवार र शनिवार तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । ती दुई दिन लामो दूरीको यात्रामा ननिस्कनु राम्रो हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भाग्यमा रहेको चन्द्रमाका साथमा सुरु भएको यो साता तपाईंले अधिकतम शुभफलहरू प्राप्त गर्नुहुनेछ । कार्यक्षेत्रमा वा समाजमा शुभचिन्तक र इष्टमित्रले तपार्इंको सराहना गर्नेछन् । धर्मकर्म, कुलपितृका काम वा परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नचिताएको ठाउँबाट धन प्राप्त हुनसक्छ वा अप्रत्याशित काम बन्ने योग छ । इच्छाएको जिम्मेबारी प्राप्त हुनसक्छ । साताको मध्यभागमा गरिएको मिहिनेतले दूरगामी भविष्यमा फाइदा हुनेछ । कृषिक्षेत्र र श्रममूलक काममा खट्नेले राम्रो फाइदा लिनसक्दछन्, खासगरी पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । ठूलाबडासँगको सामीप्यता बढ्ने छ र तिनको मद्दतले कुनै रोकिएको काम बन्ने सम्भावनासमेत छ । साताको अन्त्य मनोरञ्जक र प्रेमिल समय रहने छ । भाइबहिनी र सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुनेछ । साताको अन्त्यमा शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । पारिवारिक जीवन सामान्य रहने छ । समग्रमा राम्रो साता छ, यतिबेलाको समय विगतका कमीकमजोरी सम्झने समय होइन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा आठौं भावमा चन्द्रमा रहेकाले तपाईंले निकै सचेतताका साथमा यो सातामा व्यवहार गर्नुपर्नेछ । पाचन प्रणालीमा आएको खराबीले तपाईंलाई निराश तुल्याउन सक्छ । घरपरिवारमैं अनेकानेक समस्या देखिनसक्छन्, तिनलाई हल गर्न दौडधूप गर्नुपर्ने छ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा खिन्नता बढ्नेछ । तर साताको उत्तरार्द्ध राम्रो रहने छ, गुमेको वा सापटीमा गएको धन हातमा आउने छ । भविष्यमा फाइदा हुनेगरी सोच्दै नसोचेको कुनै काम बन्नसक्छ । मित्रवर्ग र बन्धुवान्धवको सरसहयोग जुटाउन सकिने छ । अरुको धन प्रयोग गरेको छ भने तिर्नु वा भेटेर छलफल गर्नुृ राम्रो हुन्छ, भविष्यमा अप्ठ्यारो पर्नसक्छ । बिहीबारपछि विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । साताको अन्त्यमा आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । छोटो दूरीको रमाइलो यात्रा गरिने छ । समग्रमा यो साता आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको मध्यभाग अनुकूल रहने छैन, यद्यपि यो साता आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ । खासगरी हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । समय चुनौती र परीक्षणका रूपमा देखा परेको छ । खासगरी मङ्गलवार र बुधवार स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । अनाहकमा अरुले गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने अवस्था आउला । बोलेको कुराले विपरीत अर्थ प्रदान गर्नसक्छ । नातेदारले अपमानित तुल्याउन सक्छन्, सचेत रहनु पर्छ । साताको अन्त्यमा नचिताएको काम बन्ने योग छ । धार्मिक, सामाजिक र परोपकारी काममा आकर्षण बढ्ने छ । यो साता जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आफूमुनिका नातेदार वा बालबच्चासित राम्रो व्यवहार गर्नुहोला । इष्टमित्रको शुभकामना प्राप्त गर्न सकेमा शुभफल प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा छैटौं र साताको अन्त्यमा अष्टम भावमा चन्द्रमा रहने भएकाले तपाईंका लागि यो साता अनुकूल रहने देखिंदैन । कुनै निर्णय लिनुपर्दा सोचविचार र चिन्तनको आवश्यकता हुनेछ, दृष्टिशक्तिमा कमी आउन सक्छ । व्यवहारिक समस्याले अवरोध हुने सम्भावना छ । व्यक्तिगत स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना देखिन्छ । सानोतिनो चोटपटक नै पनि लाग्न सक्छ, यात्रा गर्दा, बाटो काट्दा र हातहतियारको प्रयोग गर्दा सचेत एवं सावधान रहनु पर्छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, कुनै पनि नयाँ काम नथाल्नु होला । तर साताको मध्यभाग अनुकूल नै रहने छ, मन आनन्दका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । प्रेमसम्बन्धमा सुधार आउने छ । कामको चाप र दायित्व बढ्नेछ । शरीर फुर्तिलो हुनेछ, जोस र जाँगर बढ्नाले आम्दानीमा समेत बढोत्तरी हुनेछ । अभिभावकवर्गको आशीर्वाद प्राप्त हुनेछ । खास गरी मङ्गलवार र बुधवार लाभदायक समाचार सुन्नपाउनु हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । पढाइमा पनि राम्रै प्रगति हुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो लाभ हुने छ । तर मङ्गलवार र बुधवार छैटौं भावमा चन्द्रमा रहने भएकाले झैझडा, विवाद र पुराना समस्याले मन पिरोल्ने छ । प्रतिस्पर्धीहरूले औंला ठड्याउने अवसर पाउने छन् । कुनै कुराले विचलित गराउनुका साथै अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु बेस हुनेछ । बिहीबारपछि मायाप्रेम र भावनात्मक क्रियाकलापमा समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । कतै रामरमाइलोमा केन्द्रित भ्रमण वा पर्यटनको सम्भावना पनि देखिन्छ । विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सुरुमा घरपरिवार र छरछिमेकीका समस्यामा रुमल्लिनु पर्ने समय छ । घरायसी समस्याका कारण घरबाहिर जानुपर्ने सम्भावना पनि देखिन्छ । कामधन्दा र पारिवारिक समस्यामा केन्द्रित हुनाले फुर्सद निकाल्न सकिंदैन । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । साताको मध्यभागमा कल्पना र भावुकतामा रमाउँदा रमाउँदै समय गएको पत्तो पाउनुहुन्न । स्वास्थ्यमा देखापरेका समस्या निराकरण हुनेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बिहीबारपछि भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । आमा वा मामाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने दिन छ । तर्क, विवाद र झैझगडाबाट टाढा रहनु राम्रो हो । जोसँग जतिबेला बोले पनि बडो विचार पुर्याएर मात्रै बोल्नु राम्रो हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साताको प्रारम्भमा नै विगतमा भएका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । दीर्घकालिक योजनालाई मूर्त बनाउन चिन्तन महत्त्वपूर्ण बन्न सक्छ । मङ्गलबारपछि घरगृहस्थीमा धेरै समय खर्चनु पर्नेछ । वैदेशिक रोजगारी गर्नेेहरूले घरायसी कुरा सम्झेर समय बिताउने छन् । व्यक्तिगत स्वास्थ्यमा सानोतिनो समस्या पनि आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । साताको अन्त्यमा अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । कतै घुमघाम र रामरमाइलोमा निस्कन सक्नुहुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यो साता कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । नातेदार र कुटुम्बले काममा सहयोग गर्नेछन् । प्रतियोगितात्मक क्रियाकलापमा सफल हुनुहुने छ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ । श्रममूलक काम वा कृषिकार्यतिर मन जानेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । व्यापार गर्नेले पनि सोचेजस्तै लाभ लिन सक्नेछन् । आर्थिक लगानी हुनेछ । बिहीबारपछि घरायसी कामधन्दा र पारिवारिक आवश्यकता पूर्तिका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । साताको अन्त्यमा साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उत्साहवर्द्धक समय छ, काम गर्न जाँगर चल्नेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । आम्दानीमा कमी हुने छैन । शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । समयलाई उपयोग गर्नसके राम्रो फाइदा लिन सकिने छ । कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ, चिताएभन्दा बढी कमाउने योग छ । सामाजिक काममा संलग्न हुनुपर्ला । धार्मिक वा सामाजिक सेवाका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । यो साता छात्रछात्रा रामरमाइलोमा भुलिने छ । प्रेमीप्रेमिकाका बीचमा सामीप्यता बढ्ने समय छ, प्रेमिल वातावरणको उदय भएको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साताको प्रारम्भमा खर्चको मात्रा बढ्ने समय रहने छ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । घरपरिवारमा वा छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले सचेत हुनुपर्छ, त्यस्तै कुनै प्रतियोगिता र प्रतिस्पर्धामा भिड्दै हुनुहुन्छ भने अलि बढी तैयारी गर्नु राम्रो हुन्छ । मङ्गलवार राशिमा चन्द्रमा आइपुग्ने छ । कुनै नयाँ उद्योगधन्दा वा व्यवसायको थालनी गरेमा व्यवहारिक रूपमा फाइदा पुग्नेछ । उपलब्धीमूलक यात्रा हुने योग छ, संयमता र धैर्यतालाई त्याग्नु हुँदैन । घरायसी मामिलामा समय दिन नसक्नाले केही केही धमिलोपन आउन सक्छ । साताको अन्त्यमा सम्पति प्राप्त गर्ने सम्भावना छ । पारिवारिक जीवन संतोषप्रद हुनेछ । साझेदार वा सहयोगीको सङ्गतले लाभ प्राप्त हुने सम्भावना छ । व्यस्त समयचर्या कायम हुनेछ । परदेश वा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ ।
(सहप्राध्यापक कृष्णप्रसाद कोइरालाले लेख्नुभएको राशिफल ज्योतिष साथीबाट लिएका हौं ।)